कांग्रेस केन्द्रीय समिति बैठक आज

समाधान संवाददाता २०७७ कार्तिक २८ गते ११:२७

काठमाडौँ

शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement

सरकारले संसद अधिवेशन स्थगित गरेर स्वच्छाचारी ढंगले अघि बढिरहेका तथा महामारीमा रहेका जनतलाई राहत हुने कार्यक्रम कार्यान्वयनमा कन्जुस्याँई गरेकाले त्यसबारे पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने महतले बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मतभेद छ ।

Advertisement

कोरोना महामारीका कारण आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित छ ।

तर, क्रियाशिल सदस्यताको नविकरण र वितरण नहुँदा तथा नयाँ मिति नतोकिँदा कांग्रेसको स्थानीय तहका अधिवेशनहरू पनि हुन सकेका छैनन् ।

पार्टीका विभिन्न विभागमा भएका नियुक्ति, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा शीर्ष नेताहरूबीच विवाद भएपछि चार पटकसम्म स्थगित बैठक आज हुन लागेको हो ।

तपाईको प्रतिक्रिया