भेडीगोठको सुरक्षामा भोटेकुकुर, जनावरको चाल पाए गर्छन् गोठालालाई संकेत

समाधान संवाददाता २०७७ कार्तिक २८ गते १७:५८

राकेश शर्मा, म्याग्दी

हिमाली जिल्ला म्याग्दीका लेकलेकमा भेडीगोठ छन् । अनकन्टार ठाउँका लेकमा गोठालो जान र बस्न निकै मुस्किल हुन्छ ।

यसै पनि जंगलको बीचमा हुने र गोठाला पनि कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन् । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य सुरक्षाकर्मी कुकुर भएको किसान बताउँछन् ।

धवालगिरी गाउँपालिका ५ मल्कबाङमा ३ वर्षदेखि भेडापालन गर्दै आएका हिमबहादुर छन्त्यालको गोठमा अहिले ५ सय वटा भेडाबाख्रा छन् ती भेडाबाख्रा हेर्न उनले ५ वटा भोटेकुकुर पालेका छन् ।

कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम कुकुरले गर्ने उनी सुनाउँछन् ।

‘कुकुर भएपछि यो वनको बीचमा रहेको गोठमा हामी रातभरी सुत्न पाउँछौं, भेडाबाख्रा पनि सरक्षित हुन्छन्,’ उनले भने । बिहान कुकुरलाई खाना दिएपछि छोड्दियो भने दिनभर भेडाबाख्रासँगै वनमा जान्छन् र साँझ भेडासँगै गोठमा आउँछन् ।

‘मेरो गत वर्ष कुकुर थिएनन्,’ छन्त्यालले भने, ‘त्यो वर्ष चितुवा, जंगली जनावरबाट वर्षमा २० वटा भेडाबाख्रा खाइदिएको थियो, यो वर्ष रुकुमबाट एउटालाई ६० हजार हालेर कुकुर लिएको छु, अहिले ५ वटा कुकुर छन् । अहिलेसम्म केहीले पनि भेडा खाएको छैन ।’

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित भएको भेडा किसान बताउँछन् । नचिनेको मानिस र जंगली जनावरको आक्रमण रोक्न कुकुरले जानकारी दिन्छ । एउटा कुकुरको मूल्य ३० हजारदेखि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

मनिसलाई हेरालो राख्दा खर्च पनि बढी हुने र जंगली जनावरबाट बचाउन नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालो धनबहादुर विक बताउँछन् ।

‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिँदैन, हामी जान नसकेको ठाउँमा कुकुर पुग्छन् । जंगली जनावरबाट हामीले भन्दा बढी कुकुरले नै सुरक्षित राख्छ,’ उनले भने, ‘कुुकुर भएन भने हामी पनि बस्न सक्दैनौं ।’

घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पु-याउँदा बाटोमा, विभिन्न अनकन्टर हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुरविना भेडागोठ जोगाउन समस्या हुने गरेको छ ।

नजिकै भेडी गोठमा पालिने भोटे कुकुर नपाउँदा व्यवासायीलाई कुकुर लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया