नेपाल बंगलादेशसँग पराजित, अर्को खेल मंसिर २ मा

काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोली अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । दोस्रो हाफमा बंगलादेशले थप एक गोल गर्दा नेपाल पराजित हुन पुग्यो ।
पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।
आजको खेलमा नेपाली युवा डिफेन्डर विकाश खवासले बंगलादेशविरुद्ध डेब्यू गरे । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यू गरे ।
विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यू गर्ने अवसर पाएका हुन् । बंगलादेश र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।
तपाईको प्रतिक्रिया