ब्यारेक भत्काएर बाहिर निस्केको दिन

समाधान संवाददाता २०७७ कार्तिक २९ गते ११:१३

२०६१ कार्तिक २९
गजुरी ब्यारेक

त्रिशुली किनार छुँदै आएको चिसो सिरेटोको झोक्काले ब्युँझायो । आँखामा बाँधेको पट्टी अलिकति माथि सारेर झ्यालबाट बाहिर हेरें । धर्तीमा बिस्तारै मिर्मिरे उज्यालो झर्दै थियो ।

हामीलाई बन्दी बनाएर राखिएको घरभन्दा तल नदी सधै झैं एकनासले सुसाइरहेको छ । हाम्रो सामुन्नेको चौरतिर सेनाका जवानहरुको कल्याङमल्याङ सुनिन्छ ।

आज भाइटिकाको दिन ।

सेनाले आफै भाँचेर राखेको मेरो हात त्यहीँ माथि हत्कडी । हामी यसरी नै हातखुट्टा बाँधिएर आँखामा पट्टीले ढाकिएर बसेको पुरा १३ महिना पुगेको दिन आज। २०६० कार्तिक १ गते सेनाले समातेदेखि आजसम्म पट्टी खोलेर राम्रोसंग बाहिरको उज्यालो हेर्न पाएको छैनौं।

चराहरुको चिर्बिर सुनिन थाल्छ । बिस्तारै उज्यालो हुन थाल्यो । त्रिशुली पारी छेउका पाखामा लागेको घाम सर्दै हामीलाई राखिएको ठाउँसम्म आयो ।

रातभर चिसोमा लडेको जीउले घामको किरणको तातो अनुभूति गर्न पायो । हुन त यसरी नै बितेर गैसकेका थिए पुरै १३ महिना । अब त यस्ता दिनहरु सामान्य हुन थालिसकेका छन ।

बन्दी हौं बिहान उठेर मुख धुने कुरा भएन । एकपटक उठेपछि बाहिर शौचालय जान अनुमति पाइन्छ त्यसउता चार दिवारभित्र बन्दी ।

न ब्रस गर्नु न नुहाउनु । न कपाल काट्नु न नंग फाल्नु । डिउटीमा बस्ने सिपाहिले भनेको हामी त वन मान्छे जस्ता देखिन्छौ रे । ऐना हेर्न पाएको छैनौं कस्तो छौं कस्तो १ भित्रै बसेको भएर होला छालाचाहिँ एकदम सेतो भएको थियो सबैको ।

हामीलाई राखेको ठाउँमा ३ जना सिपाहीको बस्नेसुत्ने कोठा छ । कहिलेकाहीँ चिया दिन्छन । अनि, यस्तो चाडबाडका दिन नुन, पिरो मिलाएको, तेल, मसला हालेको खाना खान पाइएला भन्ने आशा हुन्छ ।

सिपाही आएर ढोका खोल्लान र चिया देलान भनेर पर्खदा पनि रमाइलै हुन्छ, बिहान गएको पत्तै हुदैन ।

बिहानको ९ बज्छ । १० बज्छ । सिपाहीहरुको भान्सामा भाँडा बज्छन ।

अनि बिस्तारै भाँडा बज्न छोड्छ र अब हाम्रो पालो आएको कुराले मनमा आनन्द आऊँछ । यसरी ढोका खुलेको आवाज कुर्दाकुर्दै कति दिन त साँझ पर्थ्यो तर खाना आउदैनथ्यो ।

अनि डिउटीको सिपाहीले भन्थ्यो – तिमिहरुको बाउआमा मरे रे, त्यही भएर एकछाके बारेको आज ।

उनीहरुको कुराले मनमा भक्कानो छुट्छ तर परचक्रीका सामु रुनु भएन । भोकले ख्याउटिएको अनुहार लिएर तैपनि हामी हाँसिरहन्थेउ । सिपाहीहरु भन्थे – कति ढुक्कका मान्छे होलान् यिनिहरु, शोक, चिन्ता केहि कुराको पनि छैन ।

११ बजिसकेको थियो, डिउटीको सिपाही आएर भन्यो – आज त पेटभरि मासुभात खान पाउने भयौ ।

मासुभात भनेपछि मुख मिठ्याएर बस्यौं सबैजना । धेरै ढिलो गरेर सिपाहीले ढोका खोल्यो र भन्यो – केटा हो, अहिले यस्तै भयो बेलुका राम्रोसंग खान दिउँला है ।

सिपाहीले थालमा हालेको भात छामेर हेरेको चार गास बढी भात छैन । दाल त सधैंकै जस्तै टर्लङे पानी । कैयौं दिनदेखि पेट भरेर खान पाइएको छैन ।

चाडका दिन त पेटभरि खान पाइएला भनेको तर आज पनि उस्तै । आँखाबाट आँसु पो झरेछन ।

एउटा सिपाहीले भन्यो – ल नरोनरो, बेलुका पेटभरि खालास । बिचरा ति सिपाहिलाइ के थाहा कि १ बर्षदेखि पेटभरि खान नपाएको मान्छेको मन चाडको दिन पनि पेटभरी खान नपाउँदा कस्तो हुन्छ भनेर ।

बिहानको खाना खायौं । अल्छि मान्दैमान्दै दिन ढल्यो र बेलुकाको खाना खाने वेला आयो । बेलुका पनि उस्तै ।

भर्खर दिन ढलेको थियो, सिपाहीले खाना ल्याएर ढोका बाहिर छोडेर गयो । डिउटीको सिपाहीले ढोका खोलेर खाना थालमा हालिदियो र कपाकप खायौं ।

खाना खादा हातको हत्कडि खोलिएको मौका छोपेर पूर्व योजनाबमोजिम डिउटीमा बसेको सिपाही घाँटी अठयाँयौ र उसको हतियार खोस्यौं ।

अनि हामिले उसको हातबाट चाबी खोसेर हाम्रा हातखुट्टामा लगाएका जन्जिर खोल्यौं र आफैलाइ मुक्त पार्यौं ।

त्यसपछि हतियार भन्डारमा गएर त्यहाँ रहेका सबै हतियार झिक्यौं र त्यो सिपाहीलाइ अगाडि लगाएर ब्यारेकको चोरबाटो हुँदै बाहिर निस्क्यौं ।

त्यो साझँ कतै मरि पो हालिन्छ कि भन्ने त मनमै नआएको रहेछ । कसरी बाहिर निस्कने र जनयुद्धका क. प्रचण्डको नेतृत्वमा कसरी नयाँ इतिहास रच्ने भन्ने मात्र मनमा रहेछ ।

हरेक बर्षको कार्तिक मसान्तका दिन, महिनौपछि फुत्केर हिंडेको उही नयाँ दिनजस्तो अनुभुति भैरहन्छ ।

ब्यारेक ब्रेक गरेर निस्केका साथीमध्ये क. विप्लवलाई पछि २०६१ मा सेनाले समाएर ढुङ्गाले किचिकिची लेखनाथमा मारे ।

अर्का साथी सेवकजीपछि के कुरामा हो आफ्नै साथिहरु जनमुक्ति सेनाबाट ढाड भाँचिने गरि जनमुक्ति सेनाको ब्यारेकभित्रै पिटाइ खानुभएछ । अहिले अपांग अवस्थामा अरबतिर भेडा चराँउदै हुनुहुन्छ रे ।

ठाकुरसिंह दाइ धादिङको नागिधारतिर हलिगोठालो गर्दै जीवन चलाउनु भएको छ रे । देवी ढकालका दम्पति जनमुक्ति सेनामा अयोग्यमा परेपछि चितवनमा चटपटे सटपटेको सानो टंकी राखेर बस्नु भएको छ ।

बिगुलजी चितवनमै थोरै कुखुरा पालेर बस्नु भएको छ । प्रकाशजी गाइ पालेर बस्नु हुन्छ त्यतै ।

म आफ्नै गाउँमा चिया पसल थापेर बसेको छु । ब्यारेक ब्रेकर साथीहरूसंग भेट हुन्छ बेलाबेलामा । अस्ति बिगुलजीले फोन गर्नु भएको थियो । उहाँले भन्नुभयो – हामी सबैको त सानो भए पनि बस्ने घरसम्म छ यो नसे (देवी ढकाल) को मुन्टो लुकाउने ठाउँसम्म पनि छैन । एउटा सानो जग्गामा घर बनाइदिउँ भनेर जग हाल्न लाएको ।

मैले भने – तपाईहरु काम गर्दै गर्नोस म ५० हजार पठाइदिन्छु । सिन्धुपाल्चोकको लेकबाट उहिल्यै २०५५/५६ तिरै जनयुद्ध लड्न भनेर घरबाट निस्केको मेरो मित्रको आजसम्म मुन्टो लुकाउने ठाउँ छैन ।

जनमुक्ति सेनामा हुँदा बुढाबुढीले पाएको थोरै पैसाले चितवनमा घडेरी किनेका रहेछन र अहिले मित्र बिगुलको पहलमा सानो बुकुरो बन्दैछ ।

हुन त जिन्दगी जस्तो छ त्यस्तैमा रमाइलो छ । बडो दुख भोगेर आइयो । अहिले पनि दुखै छ जिन्दगी तर कतै नचिनेको मान्छेलाई अर्को साथीले चिनाउँदा ब्यारेक ब्रेकर भनेर चिनाउँदा गर्व लाग्छ ।

अहिले जहाँ छौं हामि यत्तिमै सकिँदैन क्रान्ति । क्रान्ति, समानता र स्वतन्त्रताको यो लडाइँमा हामीले जसलाइ नायक मानेर ठुलाठुला दुस्साहस गर्ने आँट गर्यौं तिनै नायक क. प्रचण्ड आज बाल्कोट हुँदै थाङ्नेघाटमा बिसर्जन हुन पुगे र बाँकी विप्लव, वैद्य, बाबुराम साइँलाहरु आज पनि समानता र समृद्धिको लडाइँ लडिरहेका छन ।

गर्व लाग्छ सधैं न्याय, समानता र स्वतन्त्रताको सिपाही हुन पाएकोमा ।

राजु क्षेत्री

तपाईको प्रतिक्रिया