पञ्चायत र बहुदलका फ्युजन
सरस्वती गुरुङ
म ठाउँठाउँमा जाँदा भन्छुः पहिलो पटक कुनै चिजको आविष्कार गर्ने व्यक्तिलाई वैज्ञानिक भन्छन् । व्यवसायमा नयाँ शैली थालनी गर्नेलाई के भनेर सम्बोधन गर्ने ?
हजारौं बेरोजगारलाई रोजगारी दिने व्यक्तिलाई के भनेर सम्झने ?
यो पनि – हाम्रा बाको सपना
पदको दुरुपयोग नगरी आधुनिक सहरको विकास गर्नेलाई शासक भन्ने कि नेता भन्ने ?
सूर्यबहादुर केसीको सम्बोधनमा कुनै खास शब्द मसँग छैन । हामी आज पनि पञ्चहरुलाई सामन्ती नामको विशेषण थमाउँछौं ।
प्रधानपञ्च भएकै कारण कयौं पटक उहाँले मानसिक यातना भोग्नुभएको छ । राम्रो लाउने र मिठो खानेहरु कुनै एक समयका सामन्ती नै ठानिन्थे एकथरिका लागि ।
यो पनि – कालको पदमा परेर फर्केका सूर्य
केसीलाई सामन्ती होइन, क्रान्तिकारी नेता मान्छु म । पञ्चायती शासन व्यवस्थाभित्र बसेर बहुदलको समर्थन गर्नु निकै चुनौतीपूर्ण काम हो ।
सूर्यबहादुर केसी यस्ता व्यक्ति हुनुहुन्थ्योः नगरको प्रधानपञ्च हुँदा बहुदलीय व्यवस्था शिरोपर गर्न तयार रहेको निर्णय राजालाई बुझाउनुभयो । त्यसैले उहाँमा पञ्चायत र बहुदलको फ्युजन थियो ।
दुई पटकसम्म पोखराको नगर प्रधानपञ्च हुनु कहाँ चानचुने विषय हो ? पटक पटक विभिन्न राजनीतिक पार्टीले आफूतिर तान्न गरेको भागदौड, उहाँलाई चुनावमा कम्युनिस्ट र कांग्रेसको साथ, सामाजिक अभियानमा उहाँले गर्नुभएको सहयोग, समाजले उहाँलाई गर्ने सम्मान आदि हिसावले केसीको लोकप्रियता पुष्टि हुन्छ ।
यो पनि –अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग
नेता हुन कुनै राजनीति आवश्यक छैन । आफू सक्षम भएर समाजलाई आफ्नो बाटोमा डोहो-याउने व्यक्ति नै नेता हो ।
कहिले सक्रिय र कहिले निस्क्रिय दुवै हिसाबले उहाँको राजनीतिक यात्रा त टुटेन तर पछिल्ला वर्षहरुमा सूर्यबहादुर केसीलाई चिन्नेहरुले राजनीति कम, उद्योगी ज्यादा हिसावले चिने ।
मैले पनि उहाँलाई चिन्दा सक्रिय राजनीति उहाँमा थिएन । त्यसो त, उहाँले विश्वास गर्ने विचार बोकेको पार्टी निस्क्रिय अवस्थामै थियो ।
देशमा गणतन्त्र स्थापनापछिका वर्षहरुमा केसी बलियो व्यवसायीका रुपमा झन् झन् स्थापित हुँदै जानुभयो ।
दक्षिण एसियामै चाउचाउका पिताका रुपमा समाचारहरुले सम्बोधन गर्दा व्यवसाय र उद्योगमा उहाँको नयाँ चिन्तन लोभलाग्दो थियो ।
जतिबेला विद्युत उत्पादनमा कमजोर थियो देश, त्यतिबेला देखिनै उहाँले जलविद्युत आयोजनाहरुमा लगानी विस्तार गर्नुभयो ।
मोफसलमा ठूला उद्योग र बैंक खोलेर राजधानीलाई तर्साउने साहस उहाँमा थियो ।
हुनत, व्यवसाय नाफामुखी नै हुन्छ । तर केसीले गरेका व्यापारमा आर्थिक नाफाघाटा मात्रै जोडिएन, कयौंको घरबार जोडिएको छ, कयौंको हातमुख जोडिएको छ । धेरैले सम्पत्तिलाई विलासीताका रुपमा हेर्छन् ।
सिद्धान्ततः सम्पत्तिको प्रयोग, भोगविलास, लगानी र दानमा हुन्छ । केसीले तीनवटै क्षेत्रमा आफ्नो कमाइलाई प्रयोग गर्नुभयो, भन्ने लाग्छ ।
सहयोग माग्न आउने कोही पनि खालि हात फर्किनुपरेन । चाहे पैसा होस्, चाहे जागिर । यो त वहाँको विशेषता नै थियो । कयौं पटक हामीले हाम्रो आँखै अगाडी यस्ता गतिविधि देखेका हौं ।
आजको पोखरा निर्माणमा केसीको योगदान कहिलै पोखराले बिर्सिने छैन भन्ने मेरो विश्वास छ । सभागृहमा पुग्दा केसी सर सम्झन्छन्, मान्छेहरुले । बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलले केसी सरको अनुहार देखाउँछ ।
महेन्द्रपुल हेर्दा केसी सरको सम्झना आउँछ । त्यस्ता धेरै विकासहरु छन्, जहाँ केसी सरको योगदान छर्लंगै देखिन्छ ।
यो पनि
पोखरामा मात्र होइन नेपालभरि नै चीरकालसम्म उहाँको योगदान यादगार हुनेछ । सूर्यको तापजस्तो उहाँमा विकास र परिवर्तनको ताप सँधै देख्थें म ।
सकारात्मक सोंचका धनी, आधुनिक समाजका अगुवा, नयाँ सहर निर्माणका कार्यकर्ता माननीयसूर्यबहादुर केसीप्रति हार्दिक श्रद्धासुमन । जय नेपाल ।
यो पनि
जसले मलाई उद्यमी बन्न प्रेरित गरे
तपाईको प्रतिक्रिया