मुस्ताङ छिर्न निषेध, दशैंपछि १२ सय जनालाई सीमानाबाटै फर्काइयो

समाधान संवाददाता २०७७ कार्तिक ३० गते ११:५८

एसके थकाली, जोमसोम

मुस्ताङ घुम्न चाहने पर्यटकलाई जिल्ला प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरोनाको जोखिम बढेकाले अत्यावश्यक कामबाहेक यहाँ घुम्न आउने योजना बनाउँदै गरेका पर्यटकलाई प्रवेश नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङमा हाल गम्भीर बिरामीको स्वास्थ्य उपचारमा चुनौति र जटिलता विद्यमान रहेको उल्लेख गर्दै मुस्ताङ भ्रमण गर्न चाहने पर्यटकलाई यो समय नआउन अनुरोध गरेकी छिन् ।

Advertisement

‘यहाँका स्वास्थ्य संस्थामा गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक पर्ने आइसियु र भेन्टिलेटर छैन । केही भइहाले हेलीमार्फत बिरामीको उद्दार गर्न सक्ने अवस्था छैन । सडक मार्गको दुरी लामो र पट्यारिलो छ,’ उनले भनिन्, ‘चिसो बढेसँगै रुघाखोकी र निमोनियाको सम्भावना छ । अनि यहाँ समुदायस्तरमा कोरोना जोखिम वृद्धि भएकाले यो समय घुम्न उपयुक्त छैन ।’

मुस्ताङ र म्याग्दीको सीमानाकामा थप कडाई गरिएको छ । मुस्ताङमा कार्यरत कर्मचारी, शिक्षक, जनप्रतिनिधि र स्थानीयलाई सम्बन्धित कार्यालय, संस्था र वडा कार्यालयको सिफारिसमा मात्र मुस्ताङ प्रवेशको अनुमति दिइएको छ ।

Advertisement

मुस्ताङ प्रवेश गर्ने मजदुरलाई निर्माण कम्पनीले वडा कार्यालयको सिफारिस पत्रको आधारमा उचित व्यवस्थापनसहितको सर्त पालना गर्ने गरी जिल्ला प्रवेश गर्न दिइएको घासा प्रहरी चौकी ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार दशैंपछि अनुमति र सिफारिस नपाएका करिब १२ सय मजदुर र पर्यटकलाई सीमा नाकाबाट फिर्ता पठाइएको छ । मुक्तिनाथ, कागबेनी लगायतका धार्मिकस्थल बन्द रहेको र अन्य स्थानमा घुम्न आउने पर्यटकलाई निषेध गरिएको उनले बताए ।

त्यसो त मुस्ताङका अधिकांश गाउँहरु बन्द छन् । दशंैपछि मुस्ताङमा कोरोना संक्रमणको जोखिम बढेको उल्लेख गर्दै मुस्ताङका ५ वटै स्थानीय तहका गाउँमा स्थानीय गाउँ मुखियाहरुले १ वडा र १ स्थानीय तहबाट अर्को स्थानीय तहमा आाउजाउ गर्न प्रतिबन्धसमेत लगाएका छन् ।

मुस्ताङका कतिपय गाउँहरुमा १ गाउँबाट अर्को गाउँमा प्रवेश गरेको पाइए दण्डजरिवाना समेत तोकिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिकाले २ साता अघिदेखि शैक्षिक संस्था बन्द गरेको छ ।

सरकारले गत असोज १ गतेदेखि आन्तरिक उडान तथा लामो दुरीको यातायात सेवा खुल्ला गरेको भएपनि मुस्ताङमा अझै हवाई उडान हुन सकेको छैन ।

लामो दुरीको एकाध बस चले पनि सर्वसाधारणको आउजाउ न्युन छ । सरकारले पदमार्ग, पर्वतारोहरण लगायत केही पर्यटकीय गन्तब्य तथा सेवा संचालनको अनुमति प्रदान गरेपनि मुस्ताङमा पर्यटकको संख्या शून्य छ । प्रदेशका अरु जिल्लामा भने पर्यटकको चहलपहल देखिएको छ ।

दशैंतिहार तथा छठ पर्व जस्ता महत्वपूर्ण चाडपर्वमा मुस्ताङ घुम्ने योजना बनाएका आन्तरिक पर्यटकले समेत यतिबेला मुस्ताङ घुम्ने अवस्था नरहेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन बताउँछन् ।

उनले मुस्ताङका पर्यटन व्यवसायीहरुले फागुनअघि होटल संचालन नगर्ने निर्णय गरेकाले मुस्ताङ आउने पर्यटकलाई व्यवस्थापनमा समेत सास्ती पर्ने जनाए ।

गत वर्ष मुस्ताङमा दशैंतिहार तथा छठ पर्वमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको भए पनि यसपटक कोरोना कहरका कारण पर्यटक आउने सहज अवस्था नरहेको अध्यक्ष तुलाचनले सुनाए । सरकारले निषेधाज्ञा हटाएर आवागमन खुल्ला गरेपनि मुस्ताङमा अघोषित बन्दाबन्दी जारी छ ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया