मुस्ताङमा सल्कँदै कोरोना, एकैदिन थपिए १३ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक ३० गते १६:४२

एसके थकाली, जोमसोम

३ हप्ता पहिलासम्म मुस्ताङ कोरोना संक्रमितको हिसाबले ग्रीन जोनमा थियो । दसैंमा आवतजावत बढ्यो । त्यसपछि यहाँ अहिले भित्रभित्रै कोरोना सल्किरहेको छ । प्रत्येक कन्ट्याक ट्रेसिङमा संक्रमित भेटिन थालेका छन् ।

मुस्ताङमा आइतबार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । मुस्ताङमा चौंथोपटक गरिएको ट्रेसिङ टेस्टमा १३ जनालाई पोजेटिभ देखिएको हो । मुस्ताङमा एकैदिन थपिएको यो अहिलेसम्मकै उच्च संख्या हो ।

Advertisement

घरपझोङ गाउँपालिकामा ११ र थासाङ गाउँपालिकामा २ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

थासाङ र घरपझोङ गाउँपालिकाको स्थानीय सिसिएसीको पहलमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र लेते प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीको समन्वयमा कन्ट्रयाक ट्रेसिङमा परेका कुल २५ जनाको नमुना संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रमा परीक्षण गर्दा १३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

मुस्ताङमा आज थपिएका कोरोना संक्रमितसँगै सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा ९ पुरुष र ५ महिला, थासाङ गाउँपालिकामा ४ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यसअघि १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

मुस्ताङमा हालसम्म २३ जनामा पोजेटिभ देखिएको छ । २ जना भने निको भइसकेका छन् । कोरोनालाई जित्नेमा १ जना महिला र १ पुरुष छन् ।

तेश्रो र चौथो पटकको कन्ट्रयाक ट्रेसिङ नतिजामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारण लगायतमा कोरोना संक्रमण देखा परेको हो ।

मुस्ताङ कारागारका एक थुनुवासहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लगातारको कन्ट्रयाक टेसिङमा कोरोना संक्रमितको रेन्ज वृद्धि हुन थालेपछि मुस्ताङमा कोरोनाको त्रास बढेको छ ।

तपाईको प्रतिक्रिया