३२ हजार किलो आलुको बीउ वितरण

समाधान संवाददाता २०७७ मंसिर ३ गते ६:३५

तनहुँ

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ ।

राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो ।

Advertisement

निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो आलु) १८ हजार ५०० किलो र पिभिएस आलु दुई हजार २०० दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले बताए ।

उक्त वडामा मात्रै चार लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ । बिक्रीको समस्या नरहने भएकाले आफ्नै वडामा नै खपत गरिने योजना छ ।

Advertisement

“खेत बाँझो नराखौँ’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ । हिउँदमा धान काटेपछि अधिकांश खेत बाँझै राख्ने गरिएकाले अभियान चलाइएको वडाले जनाएको छ ।

बाँझो जमिनमा आलुलगायत तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन गरेको छ ।

कृषकलाई ५ देखि ६०० किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलब्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिँदै आएको छ ।

वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ । रासस

तपाईको प्रतिक्रिया