रातोढुङ्गा सबस्टेशन अलपत्र

समाधान संवाददाता २०७७ मंसिर ३ गते १०:१२

रासस, म्याग्दी

म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ ।

मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ ।

Advertisement

एटुजेड इञ्जीनियरिङले करिब रु आठ करोडमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन ।

लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो ।

Advertisement

सबस्टेशन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए ।

सबस्टेशन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ ।

असी किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए ।

पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ ।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ ।

विद्युत्को व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताए । ग्रामीण क्षेत्रमा महिनौँसम्म विद्युत् आपूर्ति नहुने समस्या छ ।

लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ ।

केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन् ।

प्रतिकात्मक तस्बिर

तपाईको प्रतिक्रिया