अञ्जनको टिमलाई निर्यात व्यवसायीको समर्थन

समाधान संवाददाता २०७७ मंसिर ४ गते ७:४१

समाधान संवाददाता, पोखरा

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफइइन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ ।

निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई भव्य स्वागत गर्दै शुभकामना दिएको छ ।

राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले आगामी अध्यक्ष शेखर गोल्छाका लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अञ्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरे ।

अध्यक्ष गुरुङले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउनुपर्ने बताए ।

संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व ‘प्रोएक्टिभ’ हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

अर्का उपाध्यक्ष चण्डी अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए ।

उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योतिजीको समूहले सशक्त भूमिका निभाउने छ ।’

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउन नै सशक्त वस्तुगततर्फको नेतृत्व हुनुपर्ने र त्यो आफूले गर्न सक्ने भन्दै आफूलाई विजयी गर्न श्रेष्ठले अनुरोध गरे ।

कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केही स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाले अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केही पूर्वअध्यक्षले चेतावनी दिने गरेकाले काम गर्न समस्या पार्दै आएको अनुभव सुनाए ।

‘कोभिड १९ ले ल्याएको समस्या दीर्घकालीन हुने बताइएको छ र त्यो मेरालागि अवसर र चुनौती दुबैको रुपमा आएको छ, अवसरको रुपमा बदल्नका लागि सशक्त टिम चाहिन्छ र त्यो किशोर प्रधान समूहको टिमले गर्न सक्छ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्रान्डिङ गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टिम दत्तचित्त भएर लाग्ने बताए ।

तपाईको प्रतिक्रिया