खोपका लागि पूर्वाधार

समाधान संवाददाता २०७७ मंसिर ५ गते ७:००

सम्पादकीय

कोरोना भाइरस रोग कोभिड १९ ले विश्वभर सताइरहँदा यसको मुक्तिका लागि अनेक प्रयास भइरहेका छन् ।

वैज्ञानिकहरु खोप निर्माणमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनले खोपका अनेक प्रयासमध्ये ३६ वटालाई अनुमति दिएको छ र ती संस्थाले खोप आविष्कारको भरमग्दुर प्रयास गरिरहेका छन् ।

Advertisement

हालै जर्मनी र अमेरिकी संस्था मिलेर बनाएको खोपले ९० प्रतिशतभन्दा बढी निको भएको खबर पनि आएको छ ।

यसलाई अमेरिकी सरकारी स्वास्थ्य विभाग (मन्त्रालय)ले आकस्मिक अनुमति दिने तयारी पनि गरेको छ ।

Advertisement

यी आशाका संकेतहरु आइरहँदा कोभिडको महामारी उत्तिकै मात्रामा बढिरहेको छ ।

हाला कि मानिसहरु दिनदिनै मरिरहँदा पनि अरु भने केही नभए झैं गरी लापरवाहीपूर्वक हिँडडुल र व्यवहार गरिरहेका छन् । सावधानी र सतर्कता अझै पुगेको छैन ।

अचेल कोरोनाको डर कम हुन थालेको छ, आतंकित नहुनु त राम्रो हो तर लापरवाह हुनुचाहिँ खतरानाक । कतिलाई कोरोना लागे पनि केही भएको छैन र सोचे झैं कोरोना रैनछ भन्ने सन्देश फैलाइरहेका छन् । कति भने मृत्युको मुखसम्म पुगेर फर्केका छन् र सत्य त छँदैछ, थुप्रैले मृत्युवरण गरेका छन् ।

संसारकै शक्तिशाली राष्ट्रहरुलाई हायलकायल पारेको भाइरसका विरुद्ध हाम्रो निरीह राज्यले खास उपलब्धिमूलक काम गर्न सकेन, सकेको छैन ।

निजी अस्पतालहरु यही मौकामा पैसा सोहोरिरहेका छन्, सरकारी अस्पतालका थोरै आइसोलेसन बेड भरिएका छन् ।

क्षमता विस्तार गरिएको छैन र गर्ने प्रयास भएको छैन । जसलाई प-यो ऊ म-योको अवस्था छ । राज्य अनुत्तरदायी भइदिँदा नागरिकको जिउज्यानको कुनै मूल्य नहुँदोरहेछ ।

यसबीचमै खोपको विश्वव्यापी खोज अनुसन्धान भइरहँदा तत्काल सर्वसाधारणका लागि उपलब्ध हुने आशा पनि पलाएका छन् । त्यसको तयारी विभिन्न मुलुकले गरेका छन् ।

हाम्रो नेपालले अरुले बनाइदिएको खोप ल्याउने गरी एउटा ढोकाचाहिँ खोलेको छ । सरकारले संक्रामक रोगविरुद्ध खोप एवं औषधी आकस्मिक रुपमा उपयोग गर्न बुधबार अध्यादेश जारी गरेको छ ।

यसलाई स्वागतयोग्य मान्नुपर्छ । दुर्भाग्य के भने खोप ल्याएर राख्ने र त्यसको समुचित उपलब्धता गराउने पूर्वाधार यो मुलुकमा छैन । अब गर्नुपर्ने तयारीचाहिँ त्यसको हो ।

कोरोना भाइरसविरुद्धको खोप अरुजस्तो नभई अत्यन्तै चिसोमा राख्नुपर्ने बताइएको छ । हुनसक्छ माइनस ७० डिग्रीमा त्यसको भण्डारण गर्नुपर्छ । त्यस्तो पूर्वाधार अहिलेसम्म नेपालमा छैन ।

अमेरिकी कम्पनी मोर्डनाको खोपलाई भने माइनस २० डिग्रीमा राख्न सकिने बताइएको छ । तर नेपालमा कुन खोप ल्याउने भन्ने यकीन भइसकेको छैन ।

बेलामा निर्णय गरी आवश्यक पूर्वाधार तयार भएन भनेचाहिँ नेपालील ज्यान गुमाउने भइरहन सक्छ ।

सरकारले आइसोलेसन, भेन्टिलेटर लगायत उपकरणको बन्दोबस्तीका लागि जति सुस्तता र बेवास्ता ग¥यो, खोपका हकमा त्यसो नगरोस् । नागरिकको जिउ ज्यान बचाउन लागोस् ।

तपाईको प्रतिक्रिया