प्रतिवादी र जुवाडेले हिरासत भरियो

समाधान संवाददाता २०७७ मंसिर ५ गते ११:०३

रासस, बागलुङ

पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् ।

हालसम्म १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

यसरी धमाधम पक्राउ गरेको प्रतिवादी र जुवाडेका कारण हिरासत र कारागारमा समेत कोरोनाको जोखिम बढेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको हो । यद्यपि प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ ।

Advertisement

कोरोनाको जोखिममा केही चुनौती देखिए पनि हालसम्म सक्दो सुरक्षा सचेतता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

कारागारमा समेत पछिल्लो समयमा ७० फरार प्रतिवादी थपिँदासमेत कोरोना सङ्क्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार फरार प्रतिवादीमध्ये ३० जना एक वर्षसम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकममा बदलेर भुक्तानीपश्चात छाडिसकेको छ ।

कारागारमा हाल १४२ कैदीबन्दी छन् । शुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ ।

प्रहरीले पिसीआर गरेर मात्रै हिरासत र कारागार पठाएपछि धमाधम कारागारमा कैदी र पक्राउ गरी हिरासतमा राखिएका थपिँदासमेत कोरोना सङ्क्रमणको जोखिम नभएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया