संग्रहालयका सामान संरक्षणमा चुनौती

समाधान संवाददाता २०७७ मंसिर ५ गते १२:०४

रासस,पोखरा ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लामो समयको बन्दाबन्दीका साथै स्वास्थ्य सुरक्षा सजगतालाई लक्षित गरी बन्द गरिएको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अहिलेसम्म पनि खुला गरिएको छैन ।

संग्रहालय नखुल्दा पर्यटकबाट हुने आम्दानी त भएन नै त्यहाँ राखिएका सामग्रीको संरक्षण अझ चुनौतीपूर्ण बनेको छ । सरकारले संग्रहालय सञ्चालनमा लगाएको रोक खुला नगरेका अवस्थामा कठिन परिस्थितिका बाबजुद लामो समय खर्चेर संग्रहालयमा संकलित एवं निर्मित महत्वपूर्ण तथा ऐतिहासिक सामग्री विभिन्न प्रकोपबाट जोगाउन मुस्किल भएको हो ।

Advertisement

पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन–अवलोकन गरिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा संकलन गरी प्रदर्शनमा राखिएका सामग्रीको संरक्षण चुनौतीपूर्ण रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार संग्रहालयमा मानिसको आवतजावत कम भएसँगै संग्रहित सामग्रीमा मुसा, साङ्लालगायतका किरा तथा ढुसी लाग्ने प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपबाट बचाउन दैनिक सरसफाइलगायत किटनाशक औषधि प्रयोग गर्दै आएको उनले बताए ।

Advertisement

संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भएरगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शन गरिएको छ ।

करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण संघले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा पैmलिएको संग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको बताउँदै उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र बनेको जनाएको छ ।

विगतमा दैनिक अवलोकनकर्ताले भरिभराउ भएका कारण टिकट काट्ने, चेक गर्ने र गाइडहरु र सरसफाइका कर्मचारीहरु व्यस्त देखिने संग्रहालय २०७६ चैत ११ देखि २०७७ मंसिरको सुरु अवस्थासम्म सुनसान छ ।

त्यसबाट संग्रहालयलाई करोडौंको घाटा परेको महासचिव गुरुङको भनाइ छ । संग्रहालयमा हिमाल आरोहणमा प्रयोग भएका विभिन्न सामग्रीका साथै विगतलाई स्मरण गराउने तस्बिरसमेत प्रदर्शन गरिएको छ ।

संग्रहालयका निर्देशक शंकर गौतमका अनुसार संग्रहालयमा संग्रह गरिएका पुरातात्विक महत्वका सामग्रीको सुरक्षा र सरसफाइका लागि विगतमा दैनिक ४ कर्मचारीको व्यवस्था गरिएकामा बन्दाबन्दीको समयमा सबै कर्मचारी आलोपालो गरेर खटिएका छन् ।

‘भदौदेखि मंसिरसम्म संग्रहालयमा जात्रा लागेको जस्तै देखिन्थ्यो ।’ उनले भने, ‘यतिखेर सुनसान संग्रहालयमा पछिल्लो समय पर्यटक गेटमा आएर बन्द भएपछि फर्कने गरेका छन् ।’ बन्द भएका कारण मंसिर ३ गते बुधबार मात्र अवलोकन गर्न आएका १५ जनाको टोली फर्कियो ।

पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा पर्ने संग्रहालयस्थलबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरी, लमजुङ लगायतका हिमशिखर दृश्यावलोकन गर्न सकिन्छ ।

पोखराको मौसम सफा भई चाँदीजस्तै टलक्क टल्कने हिमालको दृश्यावलोकन तथा आकाशमा चराजस्तै गरेर उड्ने प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक खेलमा व्यवसायीले छुट दिएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

कोरोनाका संक्रमणका बाबजुद लामो समयपछि भ्रमणका लागि बाहिर निस्केका पर्यटक संग्रहालय बन्द हुँदा गेटमा पुगेर यात्रा अधुरो भएको अनुभव सुनाउँदै फर्कने गरेका छन् ।

पोखरा र आसपासमा अन्तर्राष्ट्रिय संग्रहालयसहित पोखरा क्षेत्रीय संग्रहालय, सिग्लेसस्थित गुरुङ जातिका विविध पक्ष समेटिएको इको म्युजियम, पृथ्वीनारायण क्याम्पसस्थित संग्रहालय आदि रहेका छन् । यी सबै संग्रहालयमा यतिखेर संकलित सामग्री संरक्षण गर्नु गम्भीर चुनौती बनेको संग्रहालयका सञ्चालकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया