‘भूमि बैंक पुँजीपतिलाई पोस्न होइन’

समाधान संवाददाता २०७७ मंसिर ६ गते ११:३९

समाधान संवाददाता, स्याङ्जा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बेरोजगारलाई स्वोरोजगारमा परिणत गर्न भूमि बैंक ल्याइएको बताएकी छन् ।

उनले भूमि बैंकमार्फत बाँझो खेतीयोग्य जमिनको प्रयोग गरी उत्पादकत्व वृद्धि गर्ने भन्दै भनिन्, ‘भूमि बैंक पुँजीपतिलाई पोस्न होइन, भूमि बैंकको प्रयोगले हाम्रा अधिकांश आवश्यकताहरु परिपूर्ति गर्छ ।’

Advertisement

शुक्रबार वालिङमा मालपोत कार्यालयको नवनिर्मित भवनको उद्दघाटन गर्दै उनले भूमिको उचित उपयोग गर्नुपर्ने भन्दै अब आधुनिक प्रणालीको अधिकतम प्रयोग गरी अगाडि बढ्नुपर्ने विचार राखिन् ।

देशभरका मालपोत तथा नापी कार्यालयहरु सिष्टमको माध्यमबाट नमुना बन्ने उनको दावी थियो । प्रविधिको प्रयोगमा दक्ष जनशक्तिको अभाव लगायत चुनौतीहरु रहे पनि कर्मचारीको क्षमता विकास गर्ने पक्षलाई प्राथामिकता दिइएको उनले बताइन् ।

Advertisement

देशभरका १३१ कार्यालयहरुलाई नमुना बनाइने भन्दै त्यसको सुरुआत स्याङ्जाबाट भएको बताइन् । कार्यक्रममा विधायन समितिका सभापति मोहन रेग्मी, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास लगायतले मन्तब्य राखेका थिए ।

एक रोपनी ४ आनामा फैलिएको कार्यालयको भवन निर्माणका लागि २०७५ साल असोज २६ गते मन्त्री अर्यालले नै शिलान्यास गरेकी थिइन् । आशिष सिद्धबाबा जेभी निर्माणकर्ताले २०७५ असार ८ गते सम्झौता गरी २ वर्षमा सक्ने गरी काम थालनी गरेको थियो । कोभिडका कारण ५महिना म्याद थप गरी भवन निर्माण सम्पन्न भएको हो ।

५ करोड ६ लाख रुपैयाँमा कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । वान डोर अवधारणाका आधारमा बनेको भवनले सेवाग्राहीलाई कोठा कोठा जानुपर्ने बाध्यता हटेको मालपोत कार्यालय वालिङका प्रमुख रविन अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया