बेड नपाएर ज्यान जान थालेपछि प्रदेशले बनायो समन्वय समिति

समाधान संवाददाता २०७७ मंसिर ७ गते ७:३०

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेशले कोरोना सम्बन्धी सहजीकरण तथा समन्वय समिति गठन गरेको छ । प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलकदमीमा ७ सदस्यीय प्रदेशस्तरीय समिति गठन भएको हो । समितिको अध्यक्षमा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा छन् ।

प्रदेशले पोखराका निजी अस्पतालहरुको सहभागितामा समिति गठन गरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिए । ‘प्रदेशका जनताले अस्पतालमा बेड खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न समिति गठन गरेका छौं,’ डा. केसीले भने ।

Advertisement

समितिमा मन्त्रालयका प्रतिनिधि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य, मनिपाल अस्पताल, चरक मेमोरियल अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पतालका प्रतिनिधि छन् ।

समितिले पोखराका निजी अस्पतालसँग दिनको २ पटक अस्पतालहरुका बेड संंख्या, बिरामी संख्याबारे तथ्य संकलन गर्नेछ । यसका लागि अस्पतालहरुमा फोकल पर्सन चुनिएको केसीले बताए ।

Advertisement

‘दिनमा लिइने डाटा अनुुसार कोभिडका बिरामीलाई यो अस्पतालमा जानुस् भनेर जानकारी दिनेछौं,’ केसीले भने, ‘हामीले दिने सूचनालाई मान्दै बिरामीहरु तोकिएका अस्पताल जानुहुनेछ ।’

प्रदेशमा निजी अस्पतालले बिरामी लिन नमान्ने घटना बढेपछि प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको निर्देशनमा समिति बनाइएको हो ।

पोखरामा बेड नपाएर बिहीबार स्याङ्जाकी धनमाया गुरुङको मृत्यु भएपछि पुनले शनिबार आफ्नै रोहवरमा बैठक डाकेकी थिइन् ।

झन्डै ४ घन्टा बसेको बैठकमा मन्त्री पुनसँगै स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्मा, मन्त्रालयका सचिव, प्रमुख सचिव, मुख्यन्यायाधिवक्ता, प्रदेश नीति आयोगका पदाधिकारी र निजी अस्पतालका प्रतिनिधि उपस्थित थिए ।

समितिले अहिले देखिएका समस्याको हल गर्नेर चुस्त दुरुस्त व्यवस्थापन हुने मन्त्री पुनले प्रतिक्रिया दिइन् ।

बैठकमा कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनलाई कसरी छिटोछरितो बनाउन सकिन्छ भन्नेबारे छलफल पनि भएको थियो ।

मृतकको शव ७/८ घन्टासम्म पनि नउठ्दा अर्को बिरामीलाई मानसिक असर पर्न सक्ने भन्दै त्यसबारे छलफल गरिएको थियो । ‘लास धेरैबेरसम्म पनि नउठ्ने समस्या देखियो, त्यसलाई समाधान गर्ने बारे छलफल गरेका छौं,’ मन्त्री पुनले भनिन् ।

कास्कीमा बेड अवस्थाबारे अस्पतालका फोकल व्यक्तिबाट लिइएको सूचनालाई बिरामीसँग पु-याउने गरी कल सेन्टर बनाइने भएको छ । मन्त्रालयले कोरोना लक्ष्य गरी कल सेन्टर स्थापना गर्ने योजना लिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले बताए ।

कल सेन्टरमा नेपाल मेडिकल एसोसियसन र नर्सिङ एसोसियसनसँग सहकार्य गरेर आइसोलेसनमा रहनेहरुसँग मनोपरामर्श गराउने तयारी छ । यसका लागि आइतबार फेरि बस्ने बैठकले निर्णय गर्ने जनाइएको छ । आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बस्नेछ ।

आइतबार बस्ने बैठकले जिल्लामा अस्पतालहरुको अनुगमन गर्न समिति पनि गठन गर्नेछ । समितिले अनुगमन गरेर मन्त्रालयमा मन्त्रीलाई रिर्पोटिङ गर्नेछ ।

धनमाया गुरुङको मृत्युको घटनाबारे छानबिन समिति बनाउनेबारे कुरा उठेको डा. केसीले बताए ।

‘प्रदेशले यसै कारबाही गर्छु भनेर मिल्दैन, सिडिओको नेतृत्वमा छानबिन समिति बनाउने कुरा उठेको छ, निर्णय भने भइसकेको छैन,’ डा. केसीले भने । बिरामीलाई अक्सिजनको तुरुन्त व्यवस्था गर्ने, आइसियु बेड बढाउने, आइसियुका सामान मगाउने, आन्तरिक व्यवस्थापनलाई तीव्र बनाउनेबारे पनि बैठकले निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया