सूर्यबहादुर केसीको ठाउँमा मोहन पाण्डे बने सांसद

समाधान संवाददाता २०७७ मंसिर ७ गते १९:४६

समाधान संवाददाता
पोखरा

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए ।

Advertisement

निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकोले उनी निर्वाचित भएको आयोगका निर्वाचन अधिकृत देवकुमारी गुरागाइँले बताइन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०७४ को आम निर्वाचनमा कांग्रेसबाट खस आर्य पुरुषमध्ये ५ जना सांसद बनेका थिए । पाण्डेको नाम छैटौं नम्बरमा थियो ।

Advertisement

संघीय संसद सचिवालयले सांसद निधनको जानकारीसहित आवश्यक प्रक्रिया पूरा गरेपछि आयोगले पाण्डे निर्वाचित भएको घोषणा गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक पाण्डेले पहिलो संविधानसभा सदस्य हुन् । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । पाण्डे स्याङ्जाको बिर्घाका बासिन्दा हुन् ।

२०३७ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका पाण्डे २०४३ सालमा त्रिभुवन वहुमुखी क्याम्पस, पाल्पामा नेविसंघका सभापति भएका थिए । नेवि संघका केन्द्रीय सदस्य समेत रहिसकेका, नेपाली कांग्रस, क्षेत्रीय सभापति भइसकेका छन् ।

तपाईको प्रतिक्रिया