एमाले र जबज केपी ओलीले नै छोडेका हुन्ः सुरेन्द्र पाण्डे

समाधान संवाददाता २०७७ मंसिर ८ गते ८:३७

पूर्वमाओवादी समूहका नेता कार्यकर्तासँगको सम्बन्ध सुमधुर राख्न पाण्डेको निर्देशन

समाधान संवाददाता, पोखरा

सत्तारुढ दल नेकपा आन्तरिक विवाद गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

Advertisement

पार्टीभित्रका मुख्य ३ गुटमध्ये माधव नेपाल समूहले आइतबार पोखरामा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ ।

पोखरा लेकसाइडस्थित होटल माउन्ट कैलाशमा आयोजित भेलामा नेकपा एमालेको पछिल्लो महाधिवेशनमा माधव नेपाल पक्षमा लागेका नेताहरुलाई आमन्त्रण गरिएको श्रोतले बतायो ।

Advertisement

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपा समूहबीच विवाद चर्किरहेको बेलामा नेपाल पक्षले छुट्टै भेलाको आयोजना गरेको हो ।

पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुलाई भेलामा सहभागी गराइएको थिएन ।

भेलामा नेकपाका केन्द्रीय सदस्यहरु चूडामणि जंगली, सीता गिरी, रवीन्द्र अधिकारी (नवलपुर), श्रीमाया थकाली, श्रीनाथ बराल सहभागी थिए ।

त्यस्तै म्याग्दीबाट बालकृृष्ण सुवेदी र कृष्ण विक, बागलुङबाट इन्द्रलाल सापकोटा र दलबहादुर थापा, पर्वतबाट नरेश पौडेल, मोती पौडेल, उदय सुवेदी र भक्त कुँवर, तनहुँबाट प्रतापलाल श्रेष्ठ र विष्णुभक्त सिग्देल, गोरखाबाट हरि काफ्ले, नवलपुरबाट कृष्ण पौडेल लगायत सहभागी थिए ।

भेलामा नेपाल पक्षधर अर्थशास्त्री डा. गोविन्दबहादुर थापा पनि सहभागी रहेको बताइएको छ ।

भेलाको प्रमुख अतिथि नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे थिए ।

उनी आइतबार बिहान बुद्ध एयरको जहाजबाट पोखरा आइपुगेका हुन् । उनको गुटगत भेलाको तयारी केन्द्रीय सदस्य चूडामणि जंगलीले गरेको स्रोत बताउँछ ।

भेला संयोजन उनले गरेर आफूनिकट नेताहरुलाई डाकेका थिए । आइतबारको भेला सञ्चालन पनि उनैले गरेका थिए ।

पाण्डेले गुट भेला गर्ने थाहा पाएर माउन्ट कैलाश होटल पुगेका केपी ओली पक्षधर विद्यार्थीलाई भने प्रहरीले बाहिर निकालेको थियो ।

भेलामा सहभागी हुने नेताहरुलाई एक एक गरी बैठक कक्षभित्र लैजाने प्रबन्ध मिलाइएको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन् । भेलाका सहभागीहरु ३० जनाले होटल माउन्ट कैलाशमै डिनरसमेत गरेका थिए ।

स्थायी कमिटी सदस्य पाण्डेले प्रशिक्षणको शैलीमा सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन र दुई तिहाईको सरकार संकटमा परेको बताए ।

नेकपा एमाले र जनताको बहुदलीय जनवादको सैद्धान्तिक बाटो केपी ओलीकै कारण छोडिएको आरोप लगाउँदै पाण्डेले अहिले कुनै मुद्दा नपाएर जबजको कुरा गर्न थालेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले समाधानलाई जानकारी दिए ।

‘उतिबेला ओलीजी र प्रचण्ड मिलेर जबज र २१ औं शताब्दीको जनवादलाई त्यागे र जनताको जनवादलाई पार्टीको सिद्धान्त बनाए,’ पाण्डेले भने, ‘माधव नेपाल समूहलाई थाहै नदिई नेकपा एमाले र जबज सिध्याएको होइन ? आज उनै प्रचण्डसँग झगडा गरेर एमाले ब्युताउँछु भन्दै जबजको बहस चलाउन कुन नैतिकताले दिन्छ ?’

अहिले पार्टी र सिद्धान्तको बहसले नभएर ओलीको दम्भ र अहंकारले मात्र पार्टीमा विभाजनको अवस्था सिर्जना भएको पाण्डेले बताएका थिए ।

आफूहरुले प्रधानमन्त्री ओलीलाई कुनै पनि पदबाट हट्न नभनेको बताउँदै पाण्डेले ओलीको कार्यशैलीमा विमति रहेको जानकारी गराएका थिए ।

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर चुनावमा गएकै कारणले जनताले झन्डै दुई तिहाई बहुमत दिएर पठाएको स्मरण गराउँदै पाण्डेले जनताको त्यो अभिमतको कदर गर्न पनि पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पूर्वमाओवादी समूहका नेता कार्यकर्तालाई आमन्त्रण नगरिएको भएपनि पाण्डेले उनीहरुसँगको सम्बन्ध सुमधुर राख्न आफ्ना पक्षका कार्यकर्तालाई निर्देशन दिएका थिए ।

‘ओली पक्षले पूर्वएमाले भन्दै भावनात्मक कुरा गरे पनि त्यसका पछि नलाग्न र पूर्व माओवादी पक्षलाई साथमै लिएर हिँड्न निर्देशन दिनुभयो,’ भेलामा सहभागीमध्येका एकले बताए ।

यसलगत्तै पाण्डेले कास्की जिल्ला कमिटीमा रहेका नेपाल पक्षका कार्यसमिति सदस्यहरु र युवा विद्यार्थीका अगुवाहरुसँग छलफल गरेको स्रोतले बतायो ।

भेलामा सहभागी भएकी केन्द्रीय सदस्य सीता गिरी ओलीले कुनै गुटगत भेला नभएको दाबी गरिन् ।

उनले समाधानसँग भनिन्, ‘उहाँ (पाण्डे) पोखरा आउनुभएको रहेछ र भेटेका मात्रै हौं, त्यही बेला समसामयिक विषयमा कुराकानी भएको हो । सुरेन्द्र पाण्डे हाम्रो स्थायी कमिटी सदस्य हुनुहुन्छ । हाम्रो नेता आएपछि हामीले नभेट्ने कुरा आउँदैन ।’

१२ बजेदेखि ३ बजेसम्म बसेको भेलामा ३० जना रहेको जानकारी गिरीले दिइन् । तर गुटगत भन्दै हल्ला गरिएकोमा त्यो गलत भएको गिरीले बताइन् ।

‘पाण्डेलाई भेट्न चाहने नेताहरु गएका हौँ । अहिले पार्टी एकतामा देखिएको समस्या हल गरेर, पार्टीलाई विधि विधानमा चलाउनु पर्छ भनेर उहाँले भेलामा सुनाउनु भयो,’ उनले भनिन्, ‘गुटबन्दी त उहाँहरु (ओली पक्ष) ले थाल्नु भएको हो नि ! ओलीको समर्थनमा बाटोमा नेता झारेर अर्का अध्यक्षमाथि मुर्दावादका नारा कसले लगायो ? आफू पक्षका नेतालाई मात्र समेटेर भेला कसले जिल्लामा राख्यो ? हामी त एकताको पक्षमा छौँ । आरोप लगाउनु गलत छ ।’

यसअघि ओली पक्षधरले गुटगत भेला गरेको गिरीको भनाइ छ । उनले भनिन्, ‘मुख्यमन्त्रीले पनि भेला गर्नुभयो, हामीलाई बोलाउनुभएन, अर्का नेताले पनि भेला गर्नुभयो, हामीलाई बोलाउनुभएन ।’

तपाईको प्रतिक्रिया