विन्ध्यवासिनी मन्दिरको उत्तर ढोका खोल्न माग

समाधान संवाददाता २०७७ मंसिर ८ गते ११:१८

समाधान संवाददाता, पोखरा

कोरानाको त्राससँग विन्ध्यवासिनी मन्दिर प्रवेशमा रोक लगाइयो । अहिले मन्दिर प्रवेशमा केही खुकुलो गरिए पनि आसपासका व्यापारी भने पूर्ण सन्तुष्ट छैनन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूर्वतिरको ढोका खोले पनि उत्तरतिर भने चाबी झुन्डिएकै छ ।

Advertisement

मन्दिर परिसर प्रवेश गर्ने पूर्वतिरको ढोका खुले पनि उत्तरतिरको नखुल्दा आफूहरु मर्कामा परेको भन्दै पहल गरिदिन व्यवसायीहरुले गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बराल जीवनसँग आग्रह गरेका छन् ।

स्थानीयले सांसदलाई मन्दिर परिसरमै बोलाएर उक्त दुखेसो सुनाएका थिए ।

Advertisement

आफूहरुको माग विभिन्न ठाँउमा राख्दा समेत कतैबाट सुनुवाइ नभएपछि सांसदलाई गुहारेको स्थानीय कृष्णप्रसाद शर्माले बताए ।

मन्दिर बन्दा हुँदा भक्तजनले उत्तरतर्फको गेटबाटै दर्शन गर्न थालेका थिए । पूजा सामग्री र फलफूल बेचेर जीवीका गर्दै आएका २० जना व्यवसायी उत्तरको ढोका नखुल्दा मारमा परेको शर्माको गुनासो छ ।

अर्का व्यवसायी कृष्ण पराजुलीले समितिले उत्तरतिरका व्यवसायीलाई फरक ढंगले हेर्ने गरेको आरोप लगाए । स्थानीयको गुनासो संबोधन गर्दै सांसद बरालले मन्दिरको उत्तरतर्फको ढोका खुलाउन आफूले पहल गर्ने बताएका छन् ।

आफ्नै निर्वाचन क्षेत्र भएकाले न्यायसंगत निर्णय गराउन आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाए ।

सांसद बरालले कोरोनाको नाममा अब मठ मन्दिरहरु खुल्ला गर्न ढिलाई गर्न नहुने बताए । धेरै लामो समयदेखि बन्द भएको उक्त मन्दिर खुलाउने प्रयास स्वरुप हाल २÷४ जना भक्तहरुलाई मन्दिर प्रवेश गराइएको विन्ध्यवासिनी धार्मिकक्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

लकडाउनका समयमा पनि मन्दिरको उत्तरतर्फका व्यवसायीहरुले राम्रो लाभ लिएकोले हालको अवस्थामा आफूहरुले अनौपचारिक रुपमा मात्र पूर्वतर्फको गेट खुल्ला गराएको उनले जनाए ।

भाकल गरेका र विवाहको सिजन पनि अब सुरु भएकोले अहिलेको अवस्थामा मन्दिर पूर्ण रुपमा बन्द गराउन नसकिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया