मादीका ३ खोलामा मोटरेबल पुल निर्माण सुरु

समाधान संवाददाता २०७७ मंसिर ११ गते ८:००

समाधान संवाददाता, पोखरा

कास्कीको मादी गाउँपालिकाका ३ खोलामाथि एकैपटक मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले बुधबार वार्दी, इदी र मकैखोलामा सडक पुल निर्माण थालिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ती पुलको बुधबार शिलान्यास गरे । मुख्यमन्त्री गुरुङले संघीय संरचना अन्तर्गतको प्रदेश सरकार नबनेको भए गाउँगाउँमा मोटरेबल पुल नबन्ने दाबी गरे ।

Advertisement

उनले पुलको निर्माण भएपछि पहिला लमजुङमा पर्ने मादी बेल्टका ६ गाविस तथा पश्चिमी लमजुङ बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने उल्लेख गरे ।

‘मध्यपहाडी राजमार्ग मादी गाउँपालिका भएर जानु तथा ३ पुल बन्नु हामी सबैका लागि खुसी र गौरवको विषय हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘राजमार्ग र पुलले मादीको भाग्य र भविश्यको ढोका खोल्नेछ ।’

Advertisement

मुख्यमन्त्री गुरुङले १२ वर्षमा खोलो फर्कन्छ भन्ने उखान चरितार्थ हुन मादीमा ५० वर्ष लागेको उल्लेख गरे ।

२०२५/०२६ सालमा पृथ्वीराजमार्गको सुरुको रेखांकन गर्दा दमौलीदेखि मादीको किनारै किनार भैंसे हुँदै पोखरा निकाल्ने तयारी भएको उल्लेख गर्दै उनले पछि षडयन्त्रपूर्वक खैरनीटार दुलेगौंडा हुँदै पोखरा लगिएको स्मरण गराए ।

‘मादीले त्यति बेला गुमाएको राजमार्ग अहिले पाएको छ,’ उनले भने, ‘विकास निर्माण र भौतिक पूर्वाधारले पछि परेको क्षेत्र मादीलाई राजमार्गले अहिले समेटेको छ ।’

मुख्यमन्त्री गुरुङले पुल तथा मोटरबाटोबाट ग्रामीण, पर्यटन प्रवद्र्धन, कृषिको उत्पादनको बजारीकरण, सानातिना घरेलु उद्योगको विकास, जडिबुटी खेती लगायतबाट प्रयाप्त फाइदा लिन सुझाव दिए ।

सडक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उनले बाटो आएपछि विद्युत उत्पादन लगायत विकास निर्माणको काम गर्न सहज हुने बताए । उनले १ हजार ७ सय ८५ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत गण्डकी प्रदेशमा ३ सय ४२ किमी पर्ने बताए ।

प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले गाउँमा मोटरबाटो र पुल बनेपछि गोजीभरि पैसा लिएर बजारमा गएर खर्च गर्ने परिपाटी विकासको उल्टो बाटो भएको बताए ।

‘मादीका माछा, अर्गानिक उत्पादन बढाएर बजारका मान्छे आएर गोजी रित्याएर जाने सुल्टो विकासमा लम्कन पर्छ,’ उनले भने, ‘पुल मोटरबाटो र सिँचाइको सुविधा पुगेपछि गाउँका जनता त्यसतर्फ प्रेरित हुन जरुरी छ ।’

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सबै पुल समयमा सम्पन्न हुने बताए । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग र मोटरेवल पुल बनेपछि मादीको विकास र समृृद्धिको ढोका खोल्ने बताए ।

उनले एकैपटक ३ पुल निर्माण हुनु मादीबासीका लागि खुसी र गौरवको दिन भएको उल्लेख गरे ।

मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख मेघराज मरासिनीले आयोजनाले बनाउनु पर्ने २ मोटरेबल पुल गण्डकी प्रदेश सरकारले बनाएर गुन लगाएको बताए ।

उनले राजमार्ग अन्तर्गत इदीखोलादेखि भैंसेसम्मको १६ किलोमिटर बाटो कालोपत्रे गर्नको लागि ठेक्का सम्झौता भएको जानकारी दिदै उनले पुल र बाटाको कामसँगै पूरा हुने उल्लेख गरे । उनले दुबै पुल लोकमार्गको डिजाइनलाई समेट्ने गरी मापदण्ड कायम भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, मादी गाउँपालिका वडा नम्बर १० का अध्यक्ष कुलप्रसाद गुरुङ, वडा नम्बर ११का अध्यक्ष मित्रबहादुर गुरुङ, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले पुल निर्माणको बारेमा बोलेका थिए ।

पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख इन्जिनियर दिनेश घिमिरेका अनुसार ती ३ पुलमध्ये एउटा मादीको वडा नम्बर १० भाचोकको मकैखोलामाथि बन्दैछ । इदी र वार्दी खोलामाथीका पुल मध्यपहाडी लोकमार्गको मादी करिडर अन्तर्गत पर्छन् ।

इदी खोलामाथिको पुलले मादी गाउँपालिकाको वडा नम्बर ४ तारकाङ र वडा नम्बर ११ सैमराङलाई जोड्छ । मध्य पहाडी राजमार्गमा पर्ने वार्दी खोलाको पुलले वडा नम्बर ९ मिजुरे र वडा नम्बर १० भाचोकलाई जोड्छ ।

पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर घिमिरेका अनुसार मकैखोलामाथिको पुल प्रचलित डिजाइन अनुसार आरसिसी ब्रिज हुनेछ भने अरु २ भिन्न डिजाइनमा बन्ने छन् ।

वार्दी र इदीखोलामाथिका पुल भने प्रिस्ट्रेस्ड डिजाइनका हुने जानकारी घिमिरेले दिए । यो प्रविधिमा छडसँगसँगै तार पनि राखिन्छ र पछि तार तन्काइन्छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार मकैखोला पुलको लम्बाई २५ दशमलव ६ सय ५० मिटर हुनेछ । वार्दीखोला पुल ३६ दशमलव २ र इदीको चाहिँ ३१ दशमलव २ मिटर हुनेछ ।

इदी र मकैखोलाको पुल निर्माण २०७८ साउन २१ गते निर्माण सक्नुपर्ने गरी गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको हो । वार्दीको पुल निर्माण पूरा गर्नुपर्ने अन्तिम मिति २०७८ असोज २८ गते छ ।

यसको ठेकेदार कम्पनी भने नयाँबाटो भदौरे निर्माण सेवा हो । मकैखोला पुलको लागत २ करोड ३२ लाख ६९ हजार ३ सय ५२ रुपैयाँ छ ।

वार्दीको ४ करोड ५२ लाख ७२ हजार ४ सय ५४ र इदीको ४ करोड ४२ लाख १७ हजार रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया