२ जिल्ला जोड्ने झोलुंगे पुल

समाधान संवाददाता २०७७ मंसिर ११ गते ११:२०

गण्डकी,रासस

कास्कीको पोखरा महानगरपालिका–३२, को मजुवा र तनहँुको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतलाई जोड्ने मसिना खोलामाथि झोलुंगे पुल बन्ने भएको छ ।

पूर्वाधार विकास कार्यालय, तनहुँ गण्डकी प्रदेशको आयोजनामा ४४ मिटर लम्बाइ, १.६ मिटर चौडाइ भएको झोलुंगे पुल १३ लाख १३ हजार ८९८ को लागतमा निर्माण गर्न लागिएको हो ।

Advertisement

पुल आगामी २०७८ साल असार मसान्तसम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुल निर्माणसँगै कास्कीको पोखरा महानगरपालिका–३२ का मजुवा, छुची, तल्लोगगनगौडाका बासिन्दाका साथै र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं १ र २ का एक्लेखेत, तार्कुडाँडा, भंगारा, मकनपुर, भुजीकोट र थप्रेकका बासिन्दा लाभान्वित हुने छन् ।

Advertisement

मसिना खोला (कोत्रेखोला) द्वारको मुखमाथि निर्माणाधीन झोलुंगे पुलको बुधबार गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गरिन् ।

उक्त अवसरमा उनले तनहुको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिका जोड्ने यस पुलको निर्माण गर्न आफूले विगत १० वर्षयता निरन्तर प्रयास गर्दै आएको बताइन् ।

निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै कोइरालाले पुललाई केवल आवतजावत गर्नका लागि मात्र नभई उत्पादित वस्तुको आयातनिर्यातमा उपयोग गर्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मसिना खोला झोलुङ्गे पुल निर्माण सहयोग समितिका अध्यक्ष चक्रबहादुर ढकाल, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानालगायतले निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै समयमा नै सक्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया