नेपाल स्काउट प्रादेशिक संरचनामा

समाधान संवाददाता २०७७ मंसिर १२ गते १२:०७

समाधान संवाददाता, पोखरा

संघीयताको कार्यान्वयनसँगै नेपाल स्काउट प्रादेशिक संरचनामा गएको छ ।

जिल्ला तहमा सीमित स्काउटले प्रदेश तथा स्थानीयतहमा संरचना विस्तार गर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

Advertisement

संविधान र संघीयताको मर्म अनुसार गत कात्तिक ६गते प्रादेशिक संरचनामा गएको गण्डकी प्रदेश तदर्थ समितिका संयोजक तथा सदस्य एवं सल्लाहकारहरुको बिहीबार दीक्षान्त एवं पद तथा गोपनियताको सपथग्रहण भएको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको रोहबरमा गण्डकी प्रदेशका प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले उनीहरुलाई सपथ गराएकी थिइन् ।

Advertisement

यसभन्दाअघि नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले प्रदेश स्काउट संरक्षक तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेशका प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री पुनमगरलाई दीक्षित गराएका थिए ।

मुख्यमन्त्री गुरुङले सुन्दर, शान्त, समृद्ध र सभ्य (चार ‘स)प्रदेश बनाउने बताए ।

सरकारले २५ वर्षमा समृद्ध र सुन्दर प्रदेश बनाउने घोषणा गरेको उल्लेख गर्दै उनले युवा विद्यार्थीलाई अनुशासित बनाएर सभ्य समाज निर्माणमा स्काउटको भूमिका रहने धारणा राखे ।

‘अग्रजलाई सम्मान नगर्ने, अभिभावकको रेखदेख नगर्ने युवालाई अनुशासित र कर्तव्यनिस्ट नागरिक बनाउने दायित्व स्काउटको हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘संस्कारयुक्त सभ्य समाज निर्माणमा संघ संस्थाको भूमिका रहन्छ ।’

उनले दीक्षित भएर आजदेखि नेपाल स्काउटको अभियानमा सामेल भएको उल्लेख गर्दै प्रदेश स्काउट संरक्षकको सपथ खाएर संरक्षण र प्रवद्र्धनात्मक रुपमा काम गर्ने घोषणा गरे ।

प्रदेशका प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री पुनमगरले प्रदेशको स्काउटिङ शिक्षाको लागि ५० लाख बजेट विनियोजन गरेको जानकारी दिइन् ।

सामूहिक र संस्थागत रुपमा काम गर्ने स्काउटलेयुवालाई जीवन जगत समाज बुझेर राष्ट्रप्रतिको दायित्व पूरा सिकाएको उल्लेख गर्दै उनले अनुशासित, आज्ञाकारी, जिम्मेवार नागरिकले राष्ट्रको रक्षा गर्ने धारणा राखिन् ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले हरेक प्रदेशमा संस्थागत रुपमा स्काउटिङको विकास गर्ने जानकारी दिए ।

प्राविधिक अनौचारिक स्काउटिङ शिक्षाले युवाहरुलाई आत्मनिर्भर बन्न र स्वरोजगार बन्न प्रेरित गर्ने दाबी गर्दै उनले एक विद्यालय एक स्काउटिङ शिक्षामार्फत गाउँगाउँका कुनाकन्दरा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य शिवबहादुर भण्डारी, नेपाल स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराई, गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया