माथ्लो मुस्ताङमा तापक्रम माइनस १५ डिग्री

समाधान संवाददाता २०७७ मंसिर १४ गते ८:३०

एसके थकाली, जोमसोम

समुन्द्री सतहदेखि ४ हजार मिटरमा अवस्थित माथ्लो मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।

हिउँ पर्न रोकिए पनि माथ्लो मुस्ताङको तापक्रम माइनस १० देखि १५ डिग्रीमा झरेको छ । अत्यधिक चिसो बढेकाले दैनिक क्रियाकलापमा समेत प्रतिकुलअसर पु-याएको स्थानीय बताउँछन् ।

अधिकांश स्थानीय यतिबेला जाडो छल्न तथा विभिन्न घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न बेसी झरिसकेका हुन्थे ।

अत्यधिक चिसो हुने र खेतीपातीको कामकाज समेत नहुने भएकाले उपल्लो मुस्ताङबासी हिउँदमा बेसीमै झर्नुपर्ने पुख्र्यौली परम्परा रहेको स्थानीय छिरिङढिन्डु गुरुङले जानकारी दिए ।

‘हिउँदमा केही घर कुरुवा तथा पशुचौपाया रेखदेखमा गोठाला र वृद्धवृद्धा गाउँमै बस्थे,’ उनले भने, ‘तर, यसपटक भने विश्वव्यापी माहामारीको रुपमा उत्पन्न कोरोना भाइरसको संक्रमण जोखिमको डरले दुई गाउँपालिकाका स्थानीय गाउँमै कठ्याङ्ग्रिएर बस्न बाध्य परेको छ ।’

उनले यसपटक गाउँमा बसेका स्थानीयलाई कसरी हिउँदयामको जाडो कटाउने भन्ने चिन्ता बढेको उल्लेख गरे । गाउँमा जाडो थेग्ने आवश्यक पूर्वाधार नभएकाले ३ तहको यसमा सरकारले राहत सामग्री उपलब्ध गराइनुपर्ने माग राखे ।

बर्सेनि हिउँदयाममा उपल्लो मुस्ताङीले जाडो छल्न बेसी झर्ने र वैकल्पिक आम्दानीका लागि घुम्ती व्यापार गर्ने गरिएकोमा यसवर्षको कोरोना कहरले सिर्जित असहजता वैकल्पिक घुम्ती व्यापारको कमाइ गुमेको लोमान्थाङ—३ ठिङ्गरका टसीनर्बु गुरुङले बताए ।

घुम्ती कमाई गुमेकाले रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । उनका अनुसार यसपटक गाउँमै बस्नुपर्दा हिमपात, चिसो र कोरोनाको सामाना गर्नुपर्ने उत्तिकै चुनौती थपिएको हो ।

चिसो अत्यधिक बढेसँगै प्रत्येक घरघरका धारा पनि जमेका छन् ।

हिमालबाट बहने ससाना नदी, खोला र सिँचाइ कुलोको पानी जम्न पुगेको छ । स्थानीयले यतिबेला खोलाको जमेको बरफ घरमा ल्याई उमालेर खाना पकाउने, पशु चौपायलाई आहारा पकाउने कपडा धुने र नुहाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

चिसोले घरका सेफ्टी ट्यांकी जमेकाले शौचालयको विकल्पमा खुला दिसापिसाब गर्नुपर्ने अवस्था छ ।

कोरोनाले गाउँमै बस्न बाध्य गरिब तथा विपन्न समुदायलाई जाडोको समस्याका साथै वैकल्पिक आम्दानी गुमेपछि आर्थिक अभावको समस्या परेको छ । हिउँदयाममा घुम्ती व्यापार हुने कमाइले बर्खायामभरको खर्च जोहो गर्नुपर्ने त्यहाँका स्थानीयको बाध्यता छ ।

‘उपल्लो मुस्ताङमा हिउँदयाममा जाडोको समस्या त हुने नै भयो, त्यसमाथि त गाउँ नै ढाकिने गरी हिमपात पर्छ,’ उनले थपे, ‘मानिस तथा पशुचौपायालाई उत्तिकै सास्ती हुन्छ, वालवालिका र ज्येष्ठ नागरिकलाई रुखाघोकी र निमोनिया रोगको संम्भावना रहन्छ ।’

उपल्लो मुस्ताङमा यस वर्ष मंसिर १ गते पहिलो हिमपात भएको थियो । हिमपातसँगै अत्यधिक चिसो बढेपछि लोमान्थाङ गाउँपालिकामा केही विद्यालयको वैकल्पिक पठनपाठन बन्द भएको लोमान्थाङकी शिक्षा अधिकृत मीरादेवी शर्माले बताइन् ।

‘चिसोले बिद्यार्थी र शिक्षकको स्वास्थ्य प्रतिकुल हुने डर भयो,’ उनले भनिन् ‘यसैले गाउँपालिकाको अनुमतिमा केही विद्यालय बन्द भए केही बन्द हुने क्रममा छन् ।’

लोघेकर दामोदरकुण्ड गापाका विद्यालय पनि मंसिरको अन्तिम सातामा बन्द हुने बताइएको छ । लोमान्थाङका ४ गुम्बा र २ निजी विद्यालयले पनि घुम्ती कक्षाका लागि विद्यार्थीलाई गत हप्ता पोखरा झरिसकेको छ ।

लोमान्थाङको एकमात्र दिव्यदीप माविले भने माध्यमिक तहको ९ र १० का विद्यार्थीलाई घुम्ती कक्षाका लागि पोखरा झारिएको भएपनि आधारभूत तहका विद्यार्थीलाई हिउँदे जाडो बिदा दिइएको प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए ।

लोमान्थाङमा १० र लोघेकर दामोदरकुण्ड गापामा ८ वटा सामुदायिक बिद्यालय छन् ।

तपाईको प्रतिक्रिया