खुल्यो भेन्टिलेटर बैंक

समाधान संवाददाता २०७७ मंसिर १४ गते २०:२५

जुन अस्पतालमा चाहिन्छ, त्यहीं भेन्टिलेटर लगिदिने

अनीश भट्टराई, पोखरा

गत बिहीबार अन्नपूर्ण ३ काँडेका राजेश कार्की अचानक बिरामी परे । कोरोनाको लक्षण देखिएको भनिएका राजेशलाई मनिपाल शिक्षण अस्पतालले भेन्टिलेटरमा राख्न ढिलासुस्ती गर्दा उनको ज्यानै गयो ।

Advertisement

उनलाई आफन्तले पोखराका ४ अस्पतालमा लैजाँदा पनि भर्ना लिन नमानेपछि मनिपाल लगिएको थियो ।

त्यहाँ पनि अस्पतालका कर्मचारीले आनाकानी गरेर ढिला भेन्टिलेटरमा राख्दा उनको मृत्यु भएको मृतकका साला सुजन गुरुङले बताएका थिए ।

Advertisement

मंसिर पहिलो साता स्याङ्जाकी धनमाया गुरुङको पनि उसै गरी निधन भयो । अस्पतालहरुले आइसियु, भेन्टिलेटर छैन भन्दै फर्काएपछि उनको ट्याक्सीमै मृत्यु भएको थियो ।

यसरी प्रदेशमा भेन्टिलेटर नपाउँदा ज्यान गुमाउनको संख्या बढ्दै गएपनि प्रदेश सरकार भने आइसियु भेन्टिलेटर थप्ने बाचा गर्दै बसेको छ । तर त्यो अनुुसारको काम नभएपछि निजी क्षेत्रले नै भेन्टिलेटर सेवा प्रदान गर्ने गरी नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन भएको छ ।

काठमाडौंमा गठित नेपाल भेन्टिलेटर सर्भिसको शाखाका रुपमा काम गर्ने गरी समिति गठन भएको हो ।

कास्की समितिको अध्यक्षमा पोखरा उद्योेग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे छन् । सदस्यहरुमा डा.सरोज पोखरेल, बाराही ग्रुपका विप्लव पौडेल, गोसली हाउसका सुनील गोसेली र पत्रकार रामकृष्ण ज्ञवाली छन् । किरणलाल श्रेष्ठ सल्लाहकार छन् ।

आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल भेन्टिलेटर सर्भिस कास्कीले काठमाडौंकै विधिविधान अनुरुप काम गर्ने जनाएको छ ।

अहिले १ वटा भेन्टिलेटर र ३ वटा हाईफ्लो नोजन क्यानलबाट सेवा प्रवाह गर्न थालेको भेन्टिलेटर सर्भिस कास्कीले भविष्यमा २० वटासम्म पु¥याउने लक्ष्य लिएको छ ।

अहिले भेन्टिलेटर वा अक्सिजन दिने क्यानल नभएकाले अस्पतालले बिरामी फर्काउने स्थिति बनेकाले त्यसको अन्त गर्न भेन्टिलेटर सर्भिस आवश्यक भएको महसुस गरिएको सदस्य ज्ञवालीले बताए ।

‘हामीसँग भएका भेन्टिलेटर र हाईफ्लो नोजल क्यानोला आवश्यकता अनुसार अस्पताललाई उपलब्ध गराउछौं र त्यहाँ काम सकिएपछि फिर्ता ल्याउछौं,’ ज्ञवालीले भने, ‘यसो गर्दा जुन अस्पतालमा आवश्यक हुन्छ, त्यहाँ पठाउन सकिन्छ ।’

भेन्टिलेटर लगेवापत अस्पतालहरुले सामान्य शुल्क भने तिर्नुपर्नेछ । सरकारी अस्पतालले प्रतिदिन भेन्टिलेटरको १ हजार र हाईफ्लो नोजल क्यानेलाको ३ सय रुपैयाँ तिर्नु पर्नेछ भने निजी अस्पताललाई ३ हजार र ७ सय रुपैयाँ शुल्क तय गरिएको छ ।

अध्यक्ष विश्वशंकर पालिखेलेभेन्टिलेटर र अक्सिजनको अभावमा आम मानिसको ज्यान नजाओस् भनेर नीजि क्षेत्रले पहल गरेको बताए ।

भेन्टिलेटर र अक्सिजन दिने क्यानलको अभावमा पोखरामा पनि मानिसहरुको मृृत्यु हुन थालेपछि सरकारको मात्र मुख ताकेर हुँदैन भन्ने महसुस गरिएको पालिखेको भनाइ छ ।

रोटरी क्लबले सरकारलाई १५ वटा भेन्टिलेटर उपलब्ध गराउछौं भन्दा सरकारी निकायले त्यो पनि लिन नसकेको स्मरण गर्दै अध्यक्ष पालिखेले अब भेन्टिलेटर सर्भिस कास्कीलाई सहयोग गर्न आब्हान समेत गरेका छन् ।

अहिले कोरोना बिरामी बढिरहेकाले जोसुकैलाई जुनसुकै बेला भेन्टिलेटर आवश्यक पर्ने हुनाले भेन्टिलेटरको सक्दो व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘कसलाई कतिबेला चाहिन्छ थाहा छैन, हामीले जमर्को मात्र गरेका हौं,’ उनले भने, ‘अरु भेन्टिलेटर ल्याउन रकमको खाँचो छ, सहयोग गर्न चाहनुहुनेले गरिदिन आग्रह गर्छु ।’

‘अहिले हामीले ल्याएका सामग्री करिब ६० लाख रुपैयाँका हुन्, यी सामाग्री भेन्टिलेटर सर्भिसले उपलब्ध गराएको हो । अहिलेसम्म कसैसंग एक पैसा पनि उठाइएको छैन’ अध्यक्ष पालिखेले भने, ‘थप जोहो गर्न हामीले पोखराबाटै रकम उठाउनु आवश्यक छ । यसमा सहयोग पाउने अपेक्षा गरेका छौं ।’

कास्की शाखालाई थप भेन्टिलेटर खरिदमा सहयोगसमेत उठेको छ । आइतबारको कार्यक्रममा ४ जनाले नगद सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कास्की शाखाका अध्यक्ष विश्वशंकर पालिखे, समितिका सदस्य सुनील गोसेली, सल्लाहकार किरणलाल श्रेष्ठले समान १÷१ लाख रुपैयाँ सहयोग गर्ने बताए । युवा उद्यमी मञ्च पोखराका पूनीत वैद्यले सस्थाकै तर्फबाट २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

‘महानगर र प्रदेशले आधा मूल्यमा पनि भेन्टिलेटर लिन सकेनन्’

नेपाल भेन्टिलेटर सर्भिस पोखराका सल्लाहकार तथा रोटरी इन्टरनेसनलका पूर्वगभर्नर किरणलाल श्रेष्ठले २०१९÷२० मा रोटरीले ४० भेन्टिलेटर ल्याएको बताए ।

त्यसमध्ये पाल्पाले १२ तथा इटहरीले ३ भेन्टिलेटर राख्दा पोखराले एउटा भेन्टिलेटर पनि राख्न नसकेकोमा दुखेसो पोखे । ‘पोखरा महानगरले १ भेन्टिलेटर पनि राख्न सकेन,’ उनले भने, ‘मुख्यमन्त्रीले पनि हुन्छ भन्नुभयो, तर राख्न सक्नुभएन ।’

पोखरा महानगरले पहिला भेन्टिलेटर ल्याउन सम्झौता गरेपनि पछि लिन नसकेको श्रेष्ठले बताए । महानगरले १० भेन्टिलेटर राख्न सम्झौता गरेको भएपनि पछि ‘हामी सक्दैनौं’ भनेको श्रेष्ठले सुनाए । ‘हामी आधा पैसा हाल्छौं भन्दा पनि भोलिभोलि भनेर टारे,’ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार गण्डकी प्रदेशले पनि ३० वटा भेन्टिलेटर ल्याउन सम्झौता गरेको थियो । तर पोखरा महानगरले झैं पछि महत्व नदिएको उनले बताए । रोटरीले उत्पादकसँग समन्वय गरेर आधा पैसामै भेन्टिलेटर ल्याउन पहल गर्ने बताए । ‘यहाँ भेन्टिलेटरलाई ३० लाखमा ल्याउने भनिएका रहेछ, हामी समन्वय ग¥यौं भने १५ लाखमै ल्याइन्छ,’ उनले बताए । अहिले पोर्टेबल मिनी भेन्टिलेटरलाई ६ लाखमै पनि ल्याउन सकिने उनको भनाइ छ ।

नेपाल भेन्टिलेटर सर्भिस कास्कीले अर्को साता पोखरामै भेन्टिलेटर सञ्चालन सम्बन्धी तालिम दिने भएको छ ।

अहिले जनशक्ति व्यवस्थापनको समस्या चुलिँदै जाँदा भेन्टिलेटर सञ्चालन सम्बन्धी तालिम दिइने कास्की शाखाका सदस्य रामकृष्ण ज्ञवालीले बताए ।

के हो हाइफ्लो न्याजल क्यानोला ?
डा. सरोज पोखरेल

हाम्रो वातावरणमा २१ प्रतिशत अक्सिजन छ । सामान्य मानिसका लागि यो पर्याप्त छ । तर कोरोनाका बिरामीका लागि यो अपुग हुन सक्छ । अस्वस्थ फोक्सोले अक्सिजन नलिन सक्छ । कोरोनाका बिरामीको फोक्सो अस्वस्थ भएको बेला कोभिड उपचारमा अक्सिजन सप्लाई महत्वपूर्ण प्रविधि हो ।

अक्सिजन दिन सके धेरै बिरामी बाँच्न सक्छन् । कोरोना लागिसकेपछि बिरामीमा निमोनिया पनि देखिन सक्छ । त्यस्ता बिरामीलाई अक्सिजन दिनै पर्छ ।

अक्सिजन दिन पनि हाम्रा धेरै प्रविधि छन् । हामी सुरुमा न्याजल क्यानोला दिन्छौं । त्यो अपुग भएा फेस माक्सबाट अक्सिजन सप्लाई गर्छौं । फेस माक्सबाट पनि अपर्याप्त भएमात्र हाइफ्लो न्याजल क्यानोला दिनुपर्छ । मानिसको शरीरमा ९४ प्रतिशत अक्सिजन हुन्छ । यो मात्रा घटेर ५०–६० प्रतिशत पुगेमात्र अक्सिजन दिन्छौं ।

हाइफ्लो न्याजल क्यानोला चलाउन सजिलो छ । धेरै जनशक्तिको पनि आवश्यकता पर्दैन । भेन्टिलेटर केही पनि स्रोत बाँकी नभएपछि मात्र चलाउने हो । अक्सिजन लिनै सकेन, बिरामी बेहोस भए भेन्टिलेटरमा लैजान्छौं । भेन्टिलेटरमा अक्सिजन दिन सके धेरै गम्भीर बिरामीको पनि ज्यान बचाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया