विद्याका ३० योजना, पूर्वाधार र सडकमा केन्द्रित

समाधान संवाददाता २०७७ मंसिर १५ गते ११:१८

समाधान संवाददाता, पोखरा ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले निर्वाचन क्षेत्र नम्बर २ कास्कीका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७÷०७८ अन्तर्गत छनोट भएका योजना र विनियोजित बजेट आइतबार सार्वजनिक गरेका छन् । कार्यक्रममा सांसद भट्टराईले निर्वाचित भएको १ वर्षको कार्यप्रगति विवरण समेत प्रस्तुत गरेकी छन् ।

कार्यक्रम अन्तर्गत सडक तथा भौतिक पूर्वाधार निर्माणका योजना प्राथमिकतामा परेका छन् । उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने योजनाहरुमा ध्यान पुग्न सकेको छैन । उनले सडक निर्माण तथा स्तरोन्नति, सामुदायिक भवन, नाली, खेल मैदान, खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइन् । उनले १० लाखदेखि २५ लाखसम्मका ३० वटा योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।

Advertisement

प्रतिनिधि सभाका सदस्य भट्टराईले नीति तथा कार्यक्रम बनाउँदादेखि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बारेमा विवाद आए पनि कार्यक्रम सांसदको मतदातासम्म जाने उपयुक्त माध्यम भएको दाबी गरिन् । ‘गाउँ टोलसम्म सांसद पुग्न र जनतासंग जोडिन कार्यक्रमले सघाएको छ,’ उनले भनिन्, ‘कार्यक्रमले निर्वाचन क्षेत्रको समग्र विकासको लागि सघाएको छ ।’ उनले साना तथा ठूला योजना सबै समेट्न नसके पनि स्थानीयको माग सम्बोधन नहुने धारणा राखिन् । केही योजनाहरु गण्डकी प्रदेश सभाका योजनाहरुसँग समन्वयमा सञ्चालित भएको उल्लेख गर्दै सांसद भट्टराईले समयमै सम्पन्न गर्न २÷३ योजनालाई जोडेर अगाडि बढाएको जानकारी दिइन् । उनले अलपत्र योजनाहरुलाई प्रदेश सभाका योजनासँग जोडेर सम्पन्न गर्ने गरी छनोट गरेको बताइन् ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३सम्मका वडा पर्छन । कार्यक्रम अन्तर्गत प्रतिनिधि सभाका सदस्य भट्टराईले पोखरा महानगरको वडा नम्बर ६ र ७ लाई जोड्ने मुलथोकमा बन्दै गरेको अपुरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालका लागि २५ लाख बजेट विनियोजन गरेकी छन् ।

Advertisement

कार्यक्रम अन्तर्गत महानगरको वडा नम्बर ११ को कालिकाचोक बाँसघारी सडकको स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिका लागि २५ लाख, विनियोजन गरिएको छ । पोखरा ८ को शिवालयमार्ग ढल निर्माणको लागि २० लाख, नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्त सञ्चार केन्द्रको भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

कार्यक्रम अन्तर्गत पोखरा महानगर वडा नम्बर ३३ को खैरेनी सिंगारेबास लामगादी उपल्लो पुँडीटार सामुदायिक भवनको लागि २० लाख बजेट विनियोजन गरेको प्रतिनिधि सभाका सदस्य भट्टराईले जनाइन् । उपनिर्वाचनमा अमूल्य मत र मन दिएर जिताएर पठाएको १ वर्ष पूरा भएको उल्लेख गर्दै उनले विकास निर्माणका लागि १ वर्ष निकै छोटो समय भए पनि अल्पकालीन योजनालाई सम्पन्न गर्ने र दीर्घकालीन योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने समयको रुपम लिन सकिने बताइन् । ‘हामीसँग स्रोतको सिमितता छ । त्यही सिमित स्रोतमा योजना अगाडि बढाउनु आजको चुनौती हो,’ उनले भनिन्, ‘जति सुकै चुनौती र कठिन अवस्था भए पनि हाम्रा योजनाहरु पूरा गर्नै पर्छ ।’ उनले योजनामा जनताको सहभागिता र अपनत्वले विकास निर्माण सार्थक र उपलब्धीमूलक बन्ने उल्लेख गरिन् ।

प्रिय नेता रवीन्द्र अधिकारीले जिम्मेवार जनप्रतिनिधिको रुपमा जनतासंँगका सम्बन्ध, पारदर्शिताका साथ कार्यक्रम अन्तर्गतका योजना, विनियोजित बजेट सबै सरोकारवालाको सहभाागितामा नमुना र उदाहरणीय ढंगले सार्वजनिक गर्ने गरेको बताइन् । उनले त्यहीबाटोलाई पछ्याउँदै गत वर्षको माघमा र यो वर्षका योजना तथा बजेट आइतबार सार्वजनिक गरेको जानकारी दिइन् ।

गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना छनौट भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया