किसानलाई तालिम

समाधान संवाददाता २०७७ मंसिर १५ गते ११:२३

समाधान संवाददाता, वालिङ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा स्वस्थ तथा सफा दूध उत्पादनका लागि अभिमुखीकरण सुरु भएको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा दूध उत्पादक अगुवा कृषकहरुका लागि अभिमूखीकरण तालिम दिइएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विकासको पहिलो पूर्वाधार सक्षम र सचेत नागरिक भएको बताए । उनले सक्षम र सचेत नागरिक हुनका लागि स्वस्थ्य खानाको आवश्यकता रहेकोमा जोड दिए । ‘बाटो खन्ने कुरा र आमा समूहको भवन बनाउने कुरा मात्रै विकास होइन, स्वस्थ हुने कुरा नै विकास हो,’ अधिकारीले भने । नगरप्रमुख अधिकारीले दूधै दूधको सेतो नगर बनाउने अभियानमा गल्याङ नगरपालिका लागिरहेको पनि बताए ।

Advertisement

दैनिक दश हजार लिटर दूध उत्पादन गरी गल्याङ बाहिर पठाउने अभियानमा रहेको भन्दै उनले सबै किसानको सकारात्मक साथ पाइरहेको अधिकारीको भनाइ थियो ।

अधिकारी भन्छन् ,‘पहिले दूध किनेर खानुपर्ने अवस्था रहेकोमा अहिले दैनिक २ हजार लिटर दूध दैनिक रुपमा बाहिर पठाउन सक्नु ठूलो उपलब्धि हो । यसलाई अझै बढाउन जरुरी छ ।’

Advertisement

आफू मेयर भएपछि कृषि र पशुमा लगानी गर्ने कुरा गर्दै गर्दा धेरैले हाँसोमा उडाउने गरेको स्मरण गर्दै नगरप्रमुख अधिकारीले अहिले दूध उत्पादन बढ्दा ७ सय जनाले प्रत्यक्ष रोजगार पाएको र अप्रत्यक्ष रुपमा त्यति नै संख्यामा रोजगारीमा रहेको बताए ।

दश हजार लिटर दूध उत्पादन भएमा त्यसबाट झण्डै ४ हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी र स्वारोजगारीमा संलग्न हुने नगरपालिकाको योजना छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको कृषि र पशुको कार्यक्रमले आफू निकै प्रभावित भएको बताए । उनले भने, ‘नगरपालिकाले जे कुरामा जोड दिनुपर्ने थियो, त्यही कुरामा जोड दिएको रहेछ, म निकै खुशी भएको छु ।’

विकासका लागि कृषि र पशुपालनमा विशेष अनुदान र लगानी गर्नुको विकल्प नभएको भन्दै गल्याङ नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गर्नु प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले किसानहरुले स्वस्थ्य र सफा दूध उत्पादनमा जोड दिनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यक्रमको सहजीकरण गरिरहेको संस्था श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालि सुनौलो दानाका डाक्टर विनोद गुप्ताले गल्याङ नगरपालिकाले गरिरहेको कृषि र पशु कार्यक्रमले आफू निकै उत्साहित भएको बताए । अभिमूखीकरण कार्यक्रम सोमबार सम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया