गल्याङ नगर अस्पतालमा स्वास्थ्य बिमा

समाधान संवाददाता २०७७ मंसिर १५ गते १२:१२

समाधान संवाददाता, वालिङ ।

Advertisement

गल्याङ नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा स्वास्थ्य बिमा मार्फत सेवा शुभारम्भ गरिएको छ । बिमा सेवा शुभारम्भ गरेसँगै यहाँका सेवाग्राही पोखरा र पाल्पा जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।

आइतबार ५० भन्दा बढी ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गरेर सेवा शुभारम्भ गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताए ।

अहिले जिल्लाभर ६ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बिमामार्फत उपचार सेवा प्रदान गरिँदै आएको छ । जिल्ला अस्पतालसहित ४ वटा अस्पताल र २ वटा प्राथमिक स्वास्थ्य केन्द्रले यो सेवा प्रवाह गर्दै आएको बिमा बोर्ड शाखा कार्यालय स्याङ्जाका प्रमुख धु्रव हमालले बताए ।

गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाइ गल्याङ नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर यसै वर्षबाट प्रभाबकारी सेवा शुभारम्भ गरेको नगरप्रमुख भुपराज अधिकारीले बताए । उनले भने ,‘नेपाल सरकारले तोकेको विमाको सुविधा बाहेक थप सुविधा स्थानीय सरकारले दिएर नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन हामी लागी परेका छौं ।’

Advertisement

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्रै निशुल्क बिमाको व्यवस्था रहेकोमा स्थानीय सरकारले विपन्न तथा असक्तहरुलाई पनि निशुल्क बिमाको व्यवस्था गर्ने मापदण्ड निर्माणको काम गरिरहेको अधिकारीले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे । उनले भने ,‘नेपाल सरकारले सुरु गरेको यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय गर्ने क्रममा नगर अस्पतालमा नै यो सेवा सुरु भएको छ, सबैले सदुपयोग गर्न म आग्रह गर्दछु ।’

गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमप्रसाद पाण्डेले स्वास्थ्य विमा बारे अभिकर्ताहरुले अझै ध्यान दिएर नगरवासीलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । स्याङ्जामा २०७५ फागुन ८ बाट बिमा कार्यक्रमको शुभारम्भ भएको थियो ।

तपाईको प्रतिक्रिया