काठेखोलाका सडक कालोपत्र

समाधान संवाददाता २०७७ मंसिर १६ गते ९:५४
s curve road

गलकोट, रासस

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सडक कालोपत्र गर्न थालिएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले पालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार सडक स्तरोन्नति गर्दै आएका छन् ।

Advertisement

सो गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलोपटक कालोपत्र गर्न थालिएकोे होे ।

मंसिर मसान्तसम्म गाउँपालिकाको कार्यालयदेखि एक्लेखेतसम्मको ४०० मिटर सडक कालोपत्र भइसक्ने र वडा कार्यालयसम्म पुग्ने ४ किलोमिटर कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए ।

Advertisement

‘दुई हप्ता भित्रै गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनेछ,’ उनले भने, ‘सोही सडकको थप चार किमी सडक कालोपत्रका लागि तीन महिनादेखि पूर्वाधारको काम भइरहेको छ ।’ गण्डकी प्रदेश सरकारको ८० लाखमा पहिलो चरणमा कालोपत्र थालिएको छ ।

सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माण भइरहको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। उनले गाउँपालिकामा नै पहिलोपटक रेश पुग्ने सडकबाट कालोपत्रको काम थालिएको बताए ।

चार महिना अगाडि जोशी÷निसान÷आचार्य जेभी निर्माण सेवासँग रु छ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ । उक्त सडक २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्नेछ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौडा पार्ने तथा ज्याविन भर्ने काम भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा वर्षात्का यातायातका साधन चल्न नसक्ने समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि मोटरेबल पुलसमेत निर्माण थालिएको छ ।

गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किमी, ड्रेन, कल्र्भट तथा पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । कालोपत्र हुने र खोलामा मोटरेबल पुल जस्ता विकास निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया