गन्तव्य पुम्दीकोट

सम्पादकीय
प्राकृतिक सुन्दरताका छटाले भरिएका नेपालका डाँडाकाँडा सबैतिर पर्यटकीय सम्भावना छ । तर सबैमा पर्यटक गएका छैनन्, जाँदैनन् ।
पर्यटक आकर्षण गर्न अरु केही न केही आकर्षक प्रडक्ट चाहिन्छ । पोखरा वरिवरिका डाँडाकाँडा सबैतिरबाट हिमाल छर्लंगै देखिन्छ, तर सबैमा पर्यटक गएका छैनन् ।
पुम्दीकोट त्यस्तै अति सौन्दर्य बोकेको टाकुरा हो, जहाँ ३ वर्षअघिसम्म यसको खासै चर्चा परिचर्चा हुँदैनथ्यो । जब त्यहाँ विशाल महादेव मूर्ति स्थापना गर्ने कामको सुरु भयो, चर्चा चुलियो ।
मूर्ति स्थापना भइसकेको छ । तर थुप्रै संरचना निर्माण बाँकी नै छ । तै पनि पर्यटक आकर्षित भइसके ।
निर्माणाधीन ठाउँमा दिनदिनै पर्यटक धुइरिन थालिसकेका छन् । विशाल महादेव मूर्ति साँच्चीकै विशाल छ । त्यहाँको विशेषता छयांगै हिमाल देखिनु, पोखरा देखिनु र फेवातालमात्रै देखिनु होइन । आकाशबाट चराका आँखाले झैं ती दृश्य देखिनु पनि हो । मूर्ति स्थापनासँगै त्यस ठाउँको महिमा अझै बढेको छ ।
शिवजीको मूर्तिसँगै शिवका बारे जानकारीमूलक संग्रहालय निर्माण हुनु अर्काे महत्वपूर्ण पक्ष हो । त्यस्तै ध्यान कक्ष र बगैंचा पनि त्यहाँका आकर्षण हुनेछन् ।
पुम्दीकोट पुगिसकेपछि आगन्तुकहरुले आधा दिन उतै बिताउन मिल्ने थरीथरी आकर्षण निर्माण भइरहेका छन् । यसले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्ने देखिएको छ ।
खासै पर्यटकीय नजरमा पर्न नसकेको पुम्दीकोटलाई विशाल महादेव मूर्तिको स्थापनाले कायापलट गर्न सुरु गरिसकेको छ । पोखरालाई एउटा थप पर्यटकीय गन्तव्य थप्न ठूलो प्रयास गर्नेहरु प्रशंसाका भागिदार छन् ।
स्थानीय चन्द्रकान्त बरालको अगुवाइमा भइरहेको कामका लागि देशैभरिबाट पनि सहयोग त प्राप्त भएको छ, तर गुरुयोजनाको पूरापूर कार्यान्वयनका लागि अझै रकम अभाव रहेको बुझिएको छ । ४० करोड रुपैयाँको काममध्ये आधाजति मात्रै खर्च जुटेर काम भएको छ ।
मनकारी धेरै सहयोग गरेका छन्, ३ तहका सरकारको पनि सहयोग छ । तर सरकारले अझै सहयोग गरेर स्थानीयको होस्टेमा हैंसे गर्नुपर्ने देखिन्छ ।
सिंगो पोखराकै लागि नौलो र आकर्षक पर्यटकीय गन्तव्य बन्न जाँदा समग्र पोखरेली पर्यटनमै पुम्दीकोटले योगदान गर्दैछ ।
पर्यटन व्यवसायको साथ र समर्थन अनि सहयोग अझै बढ्नु आवश्यक देखिन्छ । पर्यटकीय गन्तव्य प्रवद्र्धनमा पर्यटन बोर्डको साथ सहयोग अपेक्षित हुन्छ ।
मठ मन्दिर मूर्ति, भ्युटावर जस्ता संरचना थुप्रै ठाउँमा बनेका छन्, सरकारको पनि लगानी भएको छ । तर तिनले खास योगदान गर्न नसकिरहेका बेला पुम्दीकोट भने सकारात्मक उदाहरण बन्ने देखिएको छ, जसले पुम्दीका स्थानीयको आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्न थालिसकेको छ ।
व्यापार व्यवसाय गर्नेहरु जुर्मुराउन थालिसके । स्थानीयको उत्पादन खपत हुने संकेत देखा परिसकेको छ ।
उद्यमशीलतासमेत विकास गर्दै अर्थतन्त्रमै योगदान पु¥याउने खाले विकास हुनुलाई स्वागत गर्नैपर्छ ।
तपाईको प्रतिक्रिया