तुलाचनको निधनमा शोक सभा

समाधान संवाददाता २०७७ मंसिर १७ गते १६:०५

समाधान संवाददाता, पोखरा

Advertisement

थकाली सेवा समाज पोखराका कार्यसमिति सदस्य तथा होटल व्यवसायी सूर्यबहादुर तुलाचनको निधन भएको चौथो दिनको पुण्यतिथिमा क्षेत्रीय थकाली सेवा समाज पोखराले बुधबार समाजको नदीपुरस्थित थकाली सेवा समाज घरमा श्रद्धाञ्जली सभा गरेको छ ।

सभामा थकाली सेवा समाज पोखराका अध्यक्ष शिवशंकर गौचन, सचिव रुजिन्द्र तुलाचन, समितिका सल्लाकार पूर्णप्रसाद तुलाचन तथा कार्यसमितिका सदस्य र तुलाचन परिवारका नातागोताले स्वर्गीय स्वर्गीय तुलाचनको तस्बिरमा फुलमाला र खादा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

थकाली सेवा समाज पोखराले अहिलेसम्म दोस्रोपटक यस प्रकारको श्रद्धाञ्जली सभा गरेको थकाली सेवा समाजका सचिव रुजिन्द्र तुलाचनले बताए ।

उनका अनुसार यसअघि संस्थाका पूर्वअध्यक्ष अजित शेरचनको निधनमा श्रद्धाञ्जली सभा गरिएको थियो । अब संस्थाले श्रद्धाञ्जली सभाको कार्यक्रमलाई निरन्तरता दिँदै जाने जानकारी उनले दिए ।

Advertisement

श्रद्धाञ्जली सभामा बोल्दै थकाली सेवा समिति पोखराका क्षेत्रीय अध्यक्ष शिवशंकर गौचनले स्वर्गीय सूर्यबहादुर तुलाचनको निधनले संस्थालाई अपुरणीय क्षति पुगेको बताए ।

उनले तुलाचन एक कर्तव्यनिष्ठ मिलनसार, इमान्दार र होनाहार सदस्य रहेको उल्लेख गरे । अध्यक्ष गौचनले भने, ‘उहाँको अभावले संस्था र थकाली समुदाय स्तब्ध भएको छ ।’

संस्थाका सचिव रुजिन्द्र तुलाचनले समितिका इमान्दार र जुझारु व्यक्ति सूर्यबहादुर तुलाचनको योगदानको चर्चा गरे । उनले संस्था र समाजको कामकाजमा निरन्तर खटिने तुलाचन सबैका पथप्रदशक भएको र उनको स्मरण पछिसम्म रहने बताए ।

थकाली सेवा समाजका सल्लाहकार पूर्णप्रसाद तुलाचनले स्वर्गीय तुलाचनको पृष्ठभूमि र योगदानको चर्चा गरे । उनले तुलाचन परिवारलाई चार देवताले रक्षा गरोस् भनी कामना गरे ।

यसअघि स्वर्गीय तुलाचनको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । थकाली सेवा समाजले स्व तुलाचनको निधनमा शोक प्रस्तावसमेत पारित गरेको जनाएको छ ।

थकाली सेवा समितिका सदस्य स्व तुलाचन पोखरा महेन्द्रपुलका होटल व्यवसायी हुन् । उनी पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष र तुलाचन वर्गका केन्द्रीय सचिव थिए ।

३ साताअघि निमोनियाले थला परेका उनको गत आइतबार उपचारका क्रममा काठमाडांैमा निधन भएको थकाली सेवा समिति पोखराले जनाएको छ ।

तपाईको प्रतिक्रिया