मुस्ताङका ३ स्थानीय तहमा कोरोना अस्पताल

समाधान संवाददाता २०७७ मंसिर १८ गते १५:५२

एसके थकाली, जोमसोम

मुस्ताङका ३ स्थानीय तहमा कोरोना अस्पताल संचालनमा आएको छ । सरकारले स्थानीय तहमा कोरोना संक्रमितको उपचार छिटोछरितो र सहज रुपमा गर्न अस्पताल संचालन गर्न निर्देशन गरेसँगै मुस्ताङको ३ तहमा सेवा सुरुआत गरिएको हो ।

लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र थासाङ गाउँपालिकामा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको हो । थासाङमा संघीय सांसद प्रेमप्रसाद तुलाचन, लोघेकरमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङ र लोमान्थाङमा गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्टले अस्पताल उद्घाटन गरे ।

Advertisement

सरकारले सरकारी अस्पताल नभएका स्थानीय तहमा ५ बेडको अस्थायी कोभिड अस्पताल बनाउनका लागि १० लाख बजेट सम्बन्धित गाउँपालिकालाई निकासा गरिसकेको छ ।

सोही बजेटको आधारमा कोरोना अस्पताल अस्पताल सुरु गरेका गाउँपालिकाले अस्थायी कोभिड अस्पतालका लागि चाहिने बेड, औषधि र स्वास्थ्य उपकरण खरिद गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष बिष्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार अनुसार सेवा सुरुआतसँगै तत्काल गाउँपालिकामा रहेका स्वास्थ्यकर्मी परिचालन गर्ने र पछि मन्त्रालयले तोकेको कार्यविधी अनुसार सूचना प्रकाशित गरि स्वास्थ्यकर्मि पदपूर्ति गरिने छ ।

स्थानीय तहमा ५ बेडको कोरोना अस्थायी अस्पतालमा १ जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरि ४ जना जनशक्ति तोकिएको छ ।

यसले मुकाम केन्द्रित स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउँदै सरकारले स्थानीय तहलाई स्वास्थ्य अधिकार सम्पन्न बनाउन खोजेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

स्थानीयस्तरको सेवाले कम खर्चमा गाउँ घरमै उपचार गर्न महत्वपूर्ण टेवा पुग्ने लोघेकरका वडाअध्यक्ष टसिढिन्डुक ठकुरीले बताए । स्थानीय तह भित्रै स्वास्थ्य सेवाको अवसर प्राप्त हुनु नागरिकका लागि गर्वको विषय भएको र यसबाट नन कोभिड बिरामीलाई पनि सेवा दिन सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया