‘अतिक्रमण पुष्टि नहुँदै दर्ता बदर गर्न मिल्दैन’

समाधान संवाददाता २०७७ मंसिर १८ गते १९:४२

समाधान संवाददाता, पोखरा

फेवाताल आसपासका बासिन्दा यसको सीमा बर्सेनि मिच्दैछन् । तालको पानीका स्रोत खोलाखोल्साबाट बगेर आउने गेग्रानले फेवाताललाई पुर्दैछ । त्यसबाहेक भूमाफिया पनि तालको जग्गा हडप्न सक्रिय छन् ।

फेवाको मापदण्डमै पर्ने ठाउँमा भौतिक संरचना बनिरहेको छ । यही विषयमा नागरिक समाज पोखरा र सिटिजन्स जुरीले फेवातालको ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको ध्यानाकर्षण गराएको छ ।

Advertisement

समिति संयोजक पुण्य पौडेललाई भेटेर नागरिक समाजका अगुवा रामबहादुर पौडेल, वरिष्ठ अधिवक्तातीलक पराजुली सहितको टोलीले कुनै दबाबमा नपरी काम गर्न आग्रह गरेको छ ।

‘फेवाताल पोखराको मात्रै नभई देशकै सम्पत्ति हो । अब यो जोगाउने जिम्मा तपाईंलाई आएको छ । कुनै दबाबमा नपरी काम गर्नुहोला,’ नागरिक समाजका अगुवा पौडेलले भने । फेवातालको दक्षिणपश्चिमी क्षेत्रमा मापदण्डभित्रै पर्ने जग्गामा भौतिक पूर्वाधार बनिरहेकाले सीमांकन नहुँदासम्म त्यसलाई रोक्न पहल गर्न आग्रह गरे ।

Advertisement

भेटघाटका क्रममा अधिवक्ता पराजुलीले फेवाताल सम्बन्धी जानकारीमूलक पुस्तकालय बनाउन सुझाए । ‘सीमांकन कार्यालयमा एउटा पुस्तकालय बनाऔं । विदेशीहरु आएर फेवातालबारे बुझ्न चाहे भने त्यही पुस्तकालयमा आउँछन्,’ उनले भने, ‘भोलि त्यो पुस्तकालय पुँजी हुन्छ ।’

फेवाताल जोगाउन कुनै कानुनी सल्लाह चाहिए आफू त्यसका लागि तयार रहेको पराजुलीले बताए ।

जवाफमा संयोजक पौडेलले फेवाताल जोगाउन सबैको साथ आवश्यक रहेको बताए । उनले आफू नेतृत्वको समितिले काम गरेको बताउँदै नापीका लागि १५ जनाको टोली बनाएको जानकारी दिए ।

‘अहिलेसम्मका रिपोर्टका आधारमा काम गर्नु भनिएको छ । त्यहाँ १६९२ रोपनी जग्गा अतिक्रमण भएको भनेको छ,’ उनले भने, ‘अतिक्रमण हो भन्ने पुष्टि नहुँदासम्म बदर गर्न मिल्दैन । त्यो हो/होइन अध्ययन गर्छौं ।’

फेवा किनारमा संरचना बनिरहेको विषयमा आफ्नो ध्यान गएको संयोजक पौडेलले सुनाए । ‘त्यहाँ संरचना बनेको थाहा पाएपछि हिजो पनि मेयरसाबसँग भनें । त्यसपछि नगरपालिकाबाट गएको टोलीले सामान जफत गरेको छ,’ उनले भने ।

फेवातालको सीमांकन गर्न र दुषित जग्गाबारे अध्ययन गर्न केन्द्र सरकारको पहलमा कात्तिक पहिलो साता सीमांकन समिति बनाइएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय ताल संरक्षण समितिका सदस्य, जिल्ला मालपोत कार्यालयका प्रमुख समिति सदस्य र नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहेको समिति बनाइएको हो । उक्त समितिलाई काम गर्न ३ महिनाको समय तोकिएको छ ।

कुनै बेला २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले १० हजार रोपनीमा खुम्चिएको छ । यसको प्रमुख कारण प्राकृतिक र मानवीय अतिक्रमण हो ।

२०५४ सालमा गरिएको सीमांकन अनुसार फेवातालको जलीय क्षेत्रफल ९ हजार ९ सय ५६ रोपनी अर्थात् ५ सय ५ हेक्टर छ ।यस्तै अवस्था रहे अबको सय वर्षमा फेवाताल भएको क्षेत्र पूरै पुरिएर चौर र बगरमा परिणत हुने विज्ञहरुले प्रस्ट्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया