लामिछानेको निर्देशनमा म्युजिक भिडियो

समाधान संवाददाता २०७७ मंसिर १९ गते १०:१९

समाधान संवाददाता, पोखरा

चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको हो ।

रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र विमल डाँगीको संगीत रहेको गीत ‘तिमीलाई पर्खी बसे..’ सार्वजनिक भएको हो ।

Advertisement

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले गीतको म्युजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताएका छन् ।

३ दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय छ ।

Advertisement

श्यामशुक्ला फिल्म प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियोमा अभिनयको अनुभव साट्दै शिव वाग्लेले घनश्याम लामिछानेको टीमसँग काम गर्न सहज भएका कारण आफूले निर्देशकमा लामिछानेलाई रोजेको बताए ।

१५ वर्षअघि एउटा म्युजिक भिडियोमा अभिनय गरेका वाग्लेको यो दोस्रो म्युजिक भिडियो हो । लकडाउनका बेला आफूलाई अभिनयमा फेरि ब्युँतिने इच्छा जागेको उनले बताए ।

कोरोना महामारीमा बन्दाबन्दीका समय उनले अनलाइनबाटै अभिनय शिक्षा समेत लिएका थिए । धेरै समयको अन्तरालमा अभियनमा फर्किंदा सुरुमा केही असहज भएता पनि टीमको सहयोगले आफूलाई सहज भएको उनले बताए । म्युजिक भिडियोबाट वाग्ले आशावादी देखिन्छन् ।

पहिलो म्युजिक भिडियोमार्फत अभिनयमा प्रवेश गरेकी जानकी थापा लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अवसरको रुपमा लिन्छिन् ।

‘मोडलिङ र अभिनयमा पहिले देखिको इच्छा भए पनि समय जुरेको थिएन,’ उनले भनिन्, ‘हाल आएर समय मिलेको छ, अब यसैमा लाग्ने सोच बनाएकी छु ।’

राम्रो टिम र राम्रो गीत पाए आगामी दिनमा पनि म्युजिक भिडियो अभिनयमा निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

म्युजिक भिडियोका सिनेमेटोग्राफी सागरराज आचार्यले पोखरामा आफूले पहिलो पटक गीतको म्युजिक भिडियो खिचेको बताए ।

अमेरिकाबाट फिल्म मेकिङ पढेर आएका अचार्यले लामिछानेको टीममा रहेर काम गर्दा आफूलाई सिक्ने अवसर समेत मिलेको बताए ।

म्युजिक भिडियो कन्सेप्ट लामिछानेकै हो । जीवन थापाले सम्पादन गरेको म्युजिक भिडियोमा अतिथि कलाकारको भूमिका देशभक्त सिंह कुँवरले निर्वाह गरेका छन् ।

म्युजिक भिडियोमा प्रकाश व्यवस्थापन अमृत थापा मगर र गोपाल भट्टराईको छ । गीतलाई श्याम शुक्ला फिल्म प्रोडक्सनकै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह—सचिव सन्तोष बस्यालले गरेका थिए ।

तपाईको प्रतिक्रिया