तनहुँ घटनाबारे छलफल गर्न आज कांग्रेस पदाधिकारी बैठक बस्दै

समाधान संवाददाता २०७७ मंसिर १९ गते १०:५३

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बेलाएका हुन् ।

Advertisement

सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुनेछ ।

बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो।

Advertisement

पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले विरोध गरेको थियो भने सभापति देउवाले फोनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग नौ पौडेल पक्राउको विषयमा संवाद गरेका थिए ।

तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न पुगको नेता पौडेलको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

वरिष्ठ नेता पौडेल र नेकपा संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनका विषयमा तनाव सिर्जना भएको थियो ।

पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा विरोधसभा आयोजना गरेको थियो ।

दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ मात्र रिहा गरिएको थियो । तर बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम विहीबार पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका थिए ।

काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए ।

यस्तै पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागी थिए ।

पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो। काँग्रेसले जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो ।

तपाईको प्रतिक्रिया