मध्यपहाडी लोकमार्ग भोलिदेखि साढे ३ घन्टा बन्द

समाधान संवाददाता २०७७ मंसिर २० गते ४:३४

पर्वत

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ ।

सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।

Advertisement

सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ । खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्ला बीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो ।

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए ।

आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भएको थियो ।

पर्वतखण्डमा सडक स्तरोन्नतिको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि शुरु गरिएको हो । कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढेसम्म कम्तीमा पनि पाँच किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ ।

अनुकूल भएसम्म कास्की र पर्वतको सिमानासम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने उनले बताए । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि माल ढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा मा ठेक्का लिएको हो । रासस

तपाईको प्रतिक्रिया