पोखरा उच्च बारको चुनाव – डिएलएले उम्मेदवार छान्यो

समाधान संवाददाता २०७७ मंसिर २० गते १०:२९

समाधान संवाददाता, पोखरा

उच्च अदालत बार पोखराको निर्वाचनका लागि कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले उम्मेदवार टुंग्याएको छ ।

नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एलएलए) ले भने उम्मेदवार छानिसकेको छैन । मंसिर २७ मा उच्च बार पोखराको निर्वाचन हँुदैछ ।

Advertisement

डिएलएको शुक्रबारको बैठकले उम्मेदवारको टुंगो लगाएको अध्यक्ष विष्णु शर्मा मरासिनीले बताए । डिएलएले बिहीबार डाकेको भेलामा ८ जनाले अध्यक्षमा आकांक्षा देखाए पनि शुक्रबार सर्वसम्मत रुपमा उम्मेवार छानिएको हो ।

अध्यक्षमा डिएलएले नारायणप्रसाद पौडेललाई उठाउने भएको छ । कास्कीको सल्यानमा जन्मेका पौडेल २०५६ सालदेखि कानुन व्यवसायमा निरन्तर छन् । उच्च बार कार्यसमिति सदस्य भइसकेका उनी एकपटकको चुनावमा सचिवको उम्मेवार पनि थिए ।

Advertisement

यसैगरी उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेन्द्र अर्याल र सहसचिवमा विनीता नेपालीले उम्मेदवारी दिने पक्का भएको छ ।

सदस्यमा भगवान अधिकारी, दुर्गाप्रसाद कोइराला, अनन्त कोइराला, भीमप्रसाद पौडेल, गीताकुमारी लामिछाने, रच्चु आले, वीरेन्द्रप्रसाद कानु, कमलनाथ कुँवर उठ्ने गरी टुंगो लगाइएको डिएलए सचिव कमल पौडेलले जानकारी दिए ।

यसअघि बिहीबारको भेलामा अध्यक्षका लागि पौडेलसहित जनक बोहोरा, दामोदर अधिकारी, वीरेन्द्र केसी, कृष्णप्रसाद तिमिल्सिना, कपिलमणि दाहाल, दीपक बास्तोला, शालिग्राम भट्टराईले आकांक्षा राखेका थिए ।

उपाध्यक्षमा दीपकराजसहित भानु कँडेल, प्रभास पराजुली, सचिवमा सन्तोषसँगै दुर्गेशराज पन्त, कोषाध्यक्षमा दीपेन्द्रसहित राजेन्द्रमान श्रेष्ठ र राजुराज अधिकारीले नाम टिपाएका थिए ।

सहसचिवमा विनीतासहित कृष्णमाया भुजेलले आकांक्षा देखाएकी थिइन् । आकांक्षी सबैलाई राखेर शुक्रबार भएको भेलाले उम्मेदवार चयन गरेको हो ।

नेपाल लयर्स एसोसिएसन (एलएलए) ले उम्मेदवारीका लागि शुक्रबारै भेला बोलाए पनि कुनै निर्णयमा नपुगेको अध्यक्ष शुकदेव गौतमले बताए ।

उनले भने, ‘भेलामा छलफल भएको छ, उम्मेदवारी दिने कि नदिने वा दिए कसलाई उठाउने बारेमा केही निर्णय भएको छैन ।’ संगठनमा आबद्ध वरिष्ठ अधिवक्तासहित ५ जना बसेर शनिबार यसबारेमा टुंगोमा अध्यक्ष गौतमले बताए ।

आगामी २ वर्षका लागि उच्च बारको चुनाव हुन लागेको हो । ४ सय ३३ सदस्य रहेको उच्च बारमा डिएलएको प्रष्ट वहुमत छ । एनएलको भन्दा १ सय १० मत बढी रहेको डिएलएको दाबी छ ।

सदस्य वाहुल्य भएकै कारण वर्तमान र यसअघिको कार्याकालमा बार कार्यसमितिमा प्रगतिशीलले उम्मेदवार विजयी हुन सकेनन् । वर्तमान समितिका लागि मतदान नै भए पनि अघिल्लोमा भने सर्वसम्मत भएको थियो ।

१० वर्ष अघि उच्च बारबाट अलग्गिएर प्रगतिशील कानुन व्यवसायीले कास्की जिल्ला बार गठन गरेका थिए । जिल्ला बारमा भने स्थापनाकालदेखि नै प्रगतिशीलको वर्चश्व छ ।

बीचका केही वर्ष उच्च र जिल्लामा सहमतिकै आधारमा उम्मेदवारी दिएर दुवै संगठनको प्रतिनिधित्व गराइएको थियो । यो क्रम पछिल्लो समयमा आएर टुटेको छ । जिल्ला बारमा ८३ सदस्य छन् ।

जिल्लामा रहेका डिएलएका सबैजसो सदस्यले उच्चतिरै सदस्यता सारेका छन् ।

यसपालिको चुनावमा जिल्ला र उच्च दुवैतिर सहमतिकै आधारमा डिएलए र एनएलएको प्रतिनिधित्व चयन गर्ने बारेमा थोरै भए पनि तयारी भएको थियो । तर यो प्रस्तावलाई बिहीबारको डिएलए भेलाले पूरै इन्कार गरिदिएपछि सहमतिको ढोका बन्द भएको छ ।

तपाईको प्रतिक्रिया