क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष बन्ने

समाधान संवाददाता २०७७ मंसिर २० गते १०:४७

कास्की, रासस

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० शय्याको आकस्मिक कक्ष निर्माण गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा हाल सञ्चालित २५ शय्याको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० शय्याको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि ९ करोड रुपैयाँ बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया थालिएको प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए ।

भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रै बोलपत्र आह्वान गरिने अस्पतालले जनाएको छ ।

अब निर्माण हुने आकस्मिक कक्ष सुविधासम्पन्न हुनेछ । ‘आकस्मिक ब्लकमै शल्यक्रिया, एक्सरे, प्रयोगशाला, फार्मेसीसहितको सुविधा सम्पन्न डेडिकेटेड ब्लक निर्माण गर्छौं,’ सहप्राडा आचार्यले भने । अस्पतालले ४ तलाको इमर्जेन्सी ब्लकको डिजाइन तयार गरेको छ भने चौंथो तलामा हेलिप्याडको अवधारणा छ ।

पहिलो चरणमा भने १ तलामात्र हुनेछ । अस्पतालले सोही ब्लकमै प्रतिष्ठानका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

गण्डकी प्रदेशको कोभिड डेडिकेटेड अस्पतालसमेत तोकिएको अस्पतालले कोभिड उपचार केन्द्रमा हालको १५ शड्ढयाको आइसियु क्षमतालाई विस्तार गरी २५ शय्या बनाउन लागेको अस्पतालका सिनेटर सदस्य मीन गुरुङले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट गरी वर्षमा ३ लाख जनाले सेवा लिने गरेका छन् ।

त्यस्तै दैनिक १ हजार बिरामीले बहिरंग सेवा लिने गरेका छन् । २ सय जनाले आकस्मिकसेवा लिने गरेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया