म्याग्दीका सुन्तला बगैँचामा औँसा किरा

बेनी, रासस
सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोप निरीक्षण गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण सुरु गरेको छ ।
कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।
म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहुँला भएका सुन्तला झर्ने समस्या बढेको छ ।
समस्या बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।
उनले पहिलो चरणमा कृषकलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको बताए ।
झरेका फलबाट थप अन्य बोटमा समेत औँसाका किरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
जमिनको सतहबाट एक फुट गहिरो खाँडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।
कार्यालयले स्थलगतरुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ ।
तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी वैशाख, जेठ, असारमा वयस्क झिङ्गा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुन्तलाको व्यावसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकको गुनासो छ ।
जिल्लाको छ वटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
गत वर्षसमेत सुन्तलामा लागेको औँसाको प्रकोप यस वर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया