म्याग्दीका सुन्तला बगैँचामा औँसा किरा

बेनी, रासस
सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोप निरीक्षण गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण सुरु गरेको छ ।
कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।
म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहुँला भएका सुन्तला झर्ने समस्या बढेको छ ।
समस्या बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।
उनले पहिलो चरणमा कृषकलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको बताए ।
झरेका फलबाट थप अन्य बोटमा समेत औँसाका किरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
जमिनको सतहबाट एक फुट गहिरो खाँडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।
कार्यालयले स्थलगतरुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ ।
तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी वैशाख, जेठ, असारमा वयस्क झिङ्गा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुन्तलाको व्यावसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकको गुनासो छ ।
जिल्लाको छ वटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
गत वर्षसमेत सुन्तलामा लागेको औँसाको प्रकोप यस वर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया