बाग्लुङका सवारीसाधनमा भाडादर नटाँसे कारवाही

समाधान संवाददाता २०७७ मंसिर २० गते १४:१७

बाग्लुङ, रासस

सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ ।

तोकिएको भाडादर विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा कारबाही गरिने समितिले जनाएको छ ।

Advertisement

सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिंह थापामगरले जानकारी दिए ।

Advertisement

‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन, अब अनुगमन बढाउँछौं,’ उनले भने, ‘अनुगमनमा कमजोरी भेटिएमा कानुनअनुसार कारबाही हुन्छ ।’

यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासो समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए ।

समितिले कोरोना संक्रमणको जाखिमलाई ध्यानमा राखेर सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ ।

यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया