आन्दोलनरत किसानले गरे डिसेम्बर ८ मा भारत बन्दको घोषणा

समाधान संवाददाता २०७७ मंसिर २० गते १५:०२

नयाँदिल्ली

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन्। आफ्ना मागहरु पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्।

किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिएका हुन्।

Advertisement

आफ्ना मागहरु पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए।

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन्।

Advertisement

“हाम्रो बैठकले आफ्ना मागहरु पूरा गर्न सरकारलाई दबाव दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ,” अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने।

हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उनले बताए।

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो।

अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबावमा परेको छ।

आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरुसँग पटक-पटक वार्ता पनि गरेको छ। तर वार्ता परिणाममुखी हुन सकेको छैन।

तपाईको प्रतिक्रिया