कोरोना भएकाे १० दिनपछि पिसिआर गर्नै पर्दैन, १४ दिनपछि बाहिर निस्के हुन्छ–डा. आचार्य

समाधान संवाददाता २०७७ मंसिर २१ गते ६:३४

समाधान संवाददाता, पाेखरा ।

त्रिभुवन शिक्षण अस्पतालआइसियु विभाग प्रमुख डा. सुभाषप्रसाद आचार्यले कोरोना संक्रमितको औषधी भनेकै डाक्टर र नर्सको सेवा भएको बताएका छन् ।

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले बिरामीलाई छुन डराउन हुँदैन भन्दै उनीहरुसँग धेरै भन्दा धेरै अन्तरक्रिया गर्न उनले आग्रह गरे ।

Advertisement

नेपाल भेन्टिलेर सर्भिसले पोखरामा गरेको तालिममा सहभागी डाक्टर र नर्सहरुलाई सम्बोधन गर्दै डा.आचार्यले औषधी नभएको रोगको औषधी भनेकै स्वास्थ्यकर्मीको केयर भएको बताए ।

अस्पतालको आइसियुमा भर्ना भएका अधिकांश बिरामीको गुनासो भनेको स्वास्थ्यकर्मीले हेरेनन् भन्ने रहेको बताउँदै उनले त्यस्तो गर्नु चिकित्सकको धर्म विपरित हुने बताए ।

Advertisement

‘सतर्कता अपनाउनुस् । मास्क लगाउनुस् । हात धोइरहनुस् तर बिरामीलाई छुन नडराउनुस् । कोरोनाको औषधी भनेकै स्वास्थ्यकर्मीको केयर हो,’ उनले भने ।

डा.आचार्यले कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि पिसिआर परीक्षण गर्नै नपर्ने पनि बताए । ‘१० दिनपछि पिसिआर गर्नु पर्दैन । १४ दिनपछि आइसोलेसन बस्नु पनि पर्दैन,’ उनले भने, नेपालमा सिटी भ्यालु हेर्ने गरिन्छ, यसकाे केही मतलब नगर्नुस, १४ दिनपछि सिटी भ्यालु जति आएपनि सर्दैन ।

धेरै जसाे काेराेना संक्रमितहरु बिना लक्षण सन्चाे भएकाे बताए । ‘अधिकांश यसै सञ्चो हुन्छन्, केही गम्भीर अवस्थामा जान्छन् उनीहरुलाई राम्रो केयर गर्नु पर्छ ।’ डा. आचार्यले भने ।

तपाईको प्रतिक्रिया