‘अपांगता भएका ६७ प्रतिशत महिलामाथि हिंसा’

समाधान संवाददाता २०७७ मंसिर २१ गते १५:००

काठमाडौं

अपांगता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपांग महासंघ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलाको भावना र हिंसाको चपेटामा अपांगता भएका महिला बढी पर्ने गरेको देखाएको हो ।

अध्ययनले अपांगता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ ।

Advertisement

अपांगता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महासंघसहित संस्थाले आइतबार आयोजना गरेको ‘अपांगता भएका महिलामाथि निरन्तर भइरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमिमा अपांगता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था’ विषयक भर्चुअल बहसमा सो जानकारी दिइएको हो ।

कार्यक्रममा महासंघका महिला उपाध्यक्ष रमा ढकालले अध्ययनमा अन्य महिलाभन्दा अपांगता भएका महिला १० गुणा बढी हिंसामा परेको पाइएको बताइन् ।

Advertisement

उनले गम्भीर शारीरिक अशक्तता भएका महिलालाई बलात्कारसमेत हुने गरेको पाइएकाले त्यस्ता घटना रोक्न र दोषीलाई कारवाही गर्न हस्तक्षेप गर्नुपर्ने जनाइन् ।

उपाध्यक्ष ढकालले त्यस्ता महिलालाई प्रजनन् स्वास्थ्यसम्बन्धी विषयमा पनि समाजमा अन्धविश्वास र गलत सोचका आधारमा अवहेलना र गालीगलोज गरिने गरिएको गुनासो गरिन् ।

‘अपाङ्गता भएका महिलालाई कसैले प्रेम र विवाह गर्दैनन् भन्ने सोच विकास गरिएको छ । यस्ता व्यक्तिमा यौन क्षमता कमजोर हुन्छ भन्ने गलत धारणा फैलाइएको छ,’ उनले भनिन्, ‘यो गलत सोच हो । यसलाई सामाजिक सचेतना तथा कानूनको पालनाबाट तोड्नुपछ ।’

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी भट्टराईले अपांगता भएका महिलाको पीडाका अवस्थामा आयोगले मल्हमपट्टी लगाउन कोसिस गरिरहेको बताइन् ।

उनले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा पनि यस सवाललाई प्राथमिकता दिइएको सुनाइन् । उनले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति नहुनु पनि सामाजिक न्याय स्थापनाका लागि चुनौतीको विषय भएको बताइन् ।

महासंघ अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका सबै व्यक्तिको अधिकार स्थापना र महिला हिंसाको अन्त्यका लागि आफूहरुले वकालत गरिरहे पनि स्थितिमा अझै सुधार नआएको बताए ।

तपाईको प्रतिक्रिया