उपल्लो मुस्ताङको लोघेकरमा थ्रीजी सेवा
एसके थकाली, जोमसोम
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका ४ स्थित सुर्खाङमा शनिबारदेखि थ्रीजी सेवा संचालनमा आएको छ।
समुन्द्री सतहदेखि ३५ सय मिटर उचाइको सुर्खाङसहित यारा, घारा ढिलगायत गाउँ प्रत्यक्ष लाभान्वित हुने गरि नेपाल टेलिकमले थ्रीजी सेवा सुरु गरेको टेलिकम जोमसोम शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।
यसअघि २०७४ सालमा नेपाल टेलिकमले लोमान्थाङमा थ्रीजि सेवा संचालनमा ल्याएको थियो । त्यस्तै लोघेकरको विकट गाउँ यारा, घारा,ढि र सुर्खाङमा टु जि मात्र थियो ।
लोघेकरका स्थानीयले सुस्त इन्टरनेट प्रयोग गर्दै आइरहेकोमा अब तीव्र गतिको इन्टनेट उपयोग गर्ने अवसर पाएको लोघेकर ४ का वडाध्यक्ष छिरिङ घोम्बो गुरुङले बताए।
नेपाल टेलिकमले साविकको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४२ सय मिटर उचाइमा अवस्थित घिउ डाँडाको रिपिटर स्टेसनबाट माइक्रो वेभ लिंकमार्फत सुर्खाङको बिटिएस टावरसँग सम्पर्क गरि थ्रीजि एन्टिना र उपकरण जडान गरेको हो ।
बाग्लुङ र जोमसोमका प्राविधिक पुगेर थ्रीजी सेवा सुरु गरेको लोघेकर १ का वडाध्यक्ष टसिढिन्डुक गुरुङले बताए ।
यस्तै नेपाल टेलिकमले निकट भविष्यमै लोघेकर १ चराङमा फोर जि संचालनमा ल्याउने जनाएको छ।
थ्रीजी सेवा संचालनमा आएपछि मुस्ताङको उत्तरी क्षेत्रका स्थानीयलाई भिडियो कल, इमेल र इन्टरनेट लगायत उपयोग गर्न सहज हुने भएको छ ।
तपाईको प्रतिक्रिया