सुस्ताएको पर्यटन क्षेत्र जगाउन नाट्टाको प्रयास

समाधान संवाददाता २०७७ मंसिर २२ गते ७:४७

समाधान संवाददाता, पोखरा

Advertisement

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ यात्रामा निस्किएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशकोको टोली ४ दिने भ्रमणपछि पोखरा फर्किएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोकनसहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, सहिद लखन पार्क, अवलोकन गरी सहिद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्रिया भएको थियो ।

गाँउपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीय स्थलको जानकारी दिँदै कोभिड– १९ का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताए ।

Advertisement

उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तब्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटनप्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलताको विषयमा व्यवसायीहरुले जिज्ञासा राखेका थिए ।

एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नु भन्दा सत्य तथ्य बाहिर ल्याएर पर्यटकीय गन्तब्यको विकासका लागि साझा धारणा सहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो ।

टोलीले गैर आवासीय नेपाली संघले भुकम्प पिडितकालागि धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा निर्माण गरेकोनमुना वस्ती पुगेर आसपासका हिमश्रृंखला र पदमार्गको बारेमा जानकारी लिएको थियो ।

स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तब्यको बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताए ।

तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तब्यको बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख दीपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिक सँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तब्यको जानकारी दिए ।

नाट्टाको टोलीले लिगलिगकोटको दृश्यवलोकनसहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो ।

अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिँदै छाब्दी बाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो ।

सो लगत्तै ग्रामीण पर्यटनको प्रवद्र्धनसहित शुक्ला गण्डकी नगरपालिका वडा नं २ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तब्यको बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडा अध्यक्ष जगतबहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तब्य र धार्मिक महत्वका बारेमा जानकारी गराए ।

भ्रमणमा सहभागी पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तब्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधै तयार रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै थालिएको पर्यटन पुर्नउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताए । उनले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तब्यको बारेमा प्रचार प्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमका संयोजक एवं संस्थाका द्वितीय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुनर्उत्थान गर्ने उद्देश्यसहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताए ।

उनले पोखरा पर्यटन परिषदका अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया