चिसो थेग्न न्यानो कपडा

समाधान संवाददाता २०७७ मंसिर २३ गते ७:००

एसके थकाली, मुस्ताङ

कात्तिक अन्तिमसम्म अधिकांश मुस्ताङी जाडो छल्न बेंसी झर्थे । यो वर्ष कोरोना कहरले उनीहरु गाउँमै बस्न बाध्य भए । अत्यधिक चिसोले घर बाहिर निस्कन कठिन छ । सरकारी कर्मचारी पनि चिसो सहेरै काममै खटिएका छन् ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले चिसोबाट पालिकाबासीलाई सुरक्षित राख्न तत्काल कार्यक्रम ल्याउने बताएका थिए । उनले भनेअनुसार गाउँपालिकाले ज्येष्ठ नागरिक र विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण थालेको छ ।

Advertisement

हिउँदयामको मौसमसँगै अत्यधिक चिसो बढेको अवस्थामा पालिकाले न्यानो कपडा वितरण गरेको हो । पालिकाले सोमबारदेखि न्यानो कपडा बाँड्न थालेको प्रमुख प्रशासकीय अधिकृत छायाँलाल मोक्तानले जानकारी दिए ।

त्यहाँको तापक्रम माइनस १५ मा झरेकाले ज्येष्ठ नागरिक र विद्यालयमा जाने बालबालिकालाई चिसो थेग्न मुस्किल परेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनिया, रुघाखोकी लगायत रोगले च्याप्ने डर भएकाले पालिकाको खर्चमा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको प्रशासकिय अधिकृत मोक्तानले उल्लेख गरे ।

Advertisement

उनका अनुसार पालिकाले ५ वटै वडाका ७० वर्ष नाघेका १सय ८ जना ज्येष्ठ नागरिकलाई करिब ३ लाख २४ हजार मुल्य बराबरको ब्ल्यांकेट प्रदान गर्ने छ । पालिकाले ८ सामुदायिक विद्यालयका २ सय २४ जना विद्यार्थीलाई २९ हजार ६ सय मुल्य बराबरको ऊनीको टोपी वितरण गर्ने कार्यक्रम राखेको छ ।

पालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले ज्येष्ठ नागरिकको सम्मान र चिसोबाट सुरक्षित रहन न्यानो कपडा वितरण गरेको जानकारी दिए । पालिकाले सोमबार वडा नम्बर २ र ३ मा पर्ने घमी, घिलिङ,स्यावछे र ढाक्मर गाउँका विद्यालयका विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको वडाध्यक्ष सम्तेनधावा गुरुङले जानकारी दिए ।

पालिकाले मंगलबार वडा ४ र ५ अन्तर्गत ध्ये, ताङया, यारा, घारा, ढी र सुर्खाङ गाउँमा न्यानो कपडा वितरण गर्ने कार्यक्रम छ । पालिकाको वडा १ चराङ र मराङमा बुधबार वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वर्ष उपल्लो मुस्ताङका अधिकांस विद्यालय कोरोना भाइरसको संक्रमण जोखिमका कारण जाडो छल्न घुम्ती कक्षाका लागि बेसी झरेका छैनन् । मौसमले साथ दिएसम्म विद्यालय सञ्चालन हुने पालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिए ।

पालिकाले वर्षेनी घुम्ती कक्षाका लागि विनियोजन गर्ने गरिएको ३० लाख रकम घुम्ती कक्षा नभएकाले विद्यालयहरुमा चिसोबाट बच्न न्यानो उपकरण र आवश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया