युरोपेली आकाशको पहुँच

समाधान संवाददाता २०७७ मंसिर २३ गते ८:००

सम्पादकीय

अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवसको पूर्वसन्ध्यामा नेपालले एउटा खुसी पायो । गएको ७ वर्षदेखि नेपालमाथि युरोपेली संघ (इयु)ले उडड्यनमा लगाएको प्रतिबन्ध यही बेला फुकुवा हुने सन्देश दिएको छ ।

तसर्थ पनि २२ मंसिरमा परेको अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस नेपालका लागि विशेष छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) को सदस्य राष्ट्र हुनुका नाताले नेपालबाट अन्तर्राष्ट्रिय उडड्यन मूल्य मान्यता र मापदण्ड पालना गर्नु कर्तव्य हुन्छ ।

Advertisement

सोही बमोजिमका कतिपय मापदण्डमा युरोपेली संघले विश्वास नगर्दा र नेपाललाई नपत्याउँदा २०७० मंसिर २० गतेदेखि अहिलेसम्म युरोपेली मुलुकका आकाशमा नेपाली जहाजलाई प्रवेश अनुमति रहेन ।

सरकारी स्वामित्वको अर्थात राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका सानाठूला जहाजले स्वदेशी र विदेशी आकाशमा उडान गरिरहँदा पनि युरोपमा भने प्रतिबन्ध लाग्दा त्यसको ठूलो अवसरबाट नेपाल बञ्चित रहँदै आयो ।

Advertisement

मुख्यगरी पर्यटन क्षेत्रका लागि यो अति पीडाको अवस्था थियो । इयुको कालोसूचीका कारण नेपालबाट युरोप उडानमात्रै रोकिएको होइन, पर्यटकलाई पुनर्बिमा कम्पनीहरूले बिमा शुल्कसमेत महँगो लिँदै आएका छन् ।

पर्यटकका लागि नेपाल महँगो गन्तव्य महँगो हुँदै आएको छ । सोही कारण पछिल्लो समय नेपालले युरोपसहित पश्चिमा मुलुकका पर्यटकको स्वागत सत्कार उल्लेख्य संख्यामा गर्न नपाएको हो ।

हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारकै प्रतिफल हो इयुले प्रतिबन्ध हटाउने प्रक्रिया थाल्नु । हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने भनेर इयुले नै भनेको छ ।

अब बेल्जियमको ब्रसेल्समा हुने प्राविधिक कमिटीको बैठकमा नेपालले गरेका सुधारबारे प्रस्ताव पेस हुन्छ, इयुको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् र अनुगमन टोलीको रिपोर्टका आधारमा इयुको हवाई सुरक्षा समितिले प्रतिबन्ध फुकुवा गर्नेछ ।

इयुले उडड्यन दिवसको पूर्वसन्ध्यामा जारी गरेको विज्ञप्तिका आधारमा भन्न सकिन्छ, अब ती सबै चरण पार हुनेछन् र प्रतिबन्ध अवश्य फुकुवा हुनेछ ।

पछिल्लो समय नेपालले नागरिक उडड्यन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्न बनाएको विधेयक संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि इयुले उठाएका अधिकांश चासो सम्बोधन हुनेछन् ।

नियामक निकाय र सेवा प्रदायक निकाय फरक—फरक बनाउने काम पनि हुँदैछ । जसबारे इयुको विशेष चासो छ ।

हवाई क्षेत्रमा भएका सुधारकै फलस्वरुप पछिल्लो समय हवाई दुर्घटना कम भएका छन्, जब कि २०७० सालअघिको वर्षमा ३ वटा हवाई दुर्घटना हुनुले पनि कालोसूचीमा पर्न प्रशस्त कारण दिएको थियो ।

हवाई सुरक्षा वास्तवमै संवेदनशील कुरा हो । स्वदेशी वा विदेशी जो सुकैका लागि पनि यो क्षेत्र सुरक्षित हुनैपर्छ । हुन पनि यातायातका सबै साधनमध्ये सबैभन्दा सुरक्षित हवाई जहाजलाई मानिन्छ, तुलनात्मक रुपमा । तर नेपालका हकमा भने सुरक्षा कमजोरी लगायत लापरवाही देखिँदा युरोपले कालोसूचीमा राख्यो ।

वास्तवमा पहिलो कुरा त सुरक्षा हामीले हाम्रै लागि गर्ने हो, तसर्थ त्यसरी विदेशका संघसंस्थाले सचेत गराउनु र नपत्याउने अवस्था आउन नदिन हामी आफैं संवेदनशील हुन जरुरी थियो । यो कालोसूचीको समयावधि नेपालका लागि निकै महँगो सावित भइसकेको छ ।

अब प्रतिबन्ध फुकुवा हुनु पक्कै पनि स्वागतयोग्य छ, तर आगामी दिनमा पनि निरन्तर संवेदनशील भइएन भने मुलुकमाथि अन्तर्राष्ट्रिय जगतले गर्ने विश्वास उजाडिन सक्छ, त्यस्तो स्थिति नआओस् ।

तपाईको प्रतिक्रिया