मुस्ताङी सांसदका योजना र बजेट

समाधान संवाददाता २०७७ मंसिर २४ गते ५:५४

एसके थकाली, जोमसोम

मुस्ताङबाट निर्वाचित प्रतिनिधि तथा गण्डकी प्रदेश सभाका सदस्यहरुले आर्थिक वर्ष २०७६/०७७का लागि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा लागि योजना तथा बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम तथा प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ५ वटै स्थानीय तहको सहमतिमा आधारमा विनियोजन गरेका हुन् ।

Advertisement

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको कार्यविधि नियमावली २०७७ बमोजिम प्रतिनिधि सभाका सदस्य प्रेमप्रसाद तुलाचनको तर्फबाट ४ करोड बजेट विनियोजन भएको छ । प्रदेशसभा सदस्यहरुको तर्फबाट २ करोड विनियोजन भएको हो ।

१ प्रतिनिधि र २ प्रदेश सभाका सदस्य रहेको मुस्ताङमा कुल १० करोड बजेट आएको जिल्ला समन्वय समिति मुस्ताङले जनाएको छ ।

Advertisement

कतिपय योजना साझेदारी रुपमा सम्पन्न गर्ने गरी छनोट गरिएको छ । चालु आर्थिक वर्षमा गत वर्ष सम्पन्न हुन नसकेको र अधुरा योजनालाई पनि बजेटमा समेटिएको प्रतिनिधि सभाका सदस्य तुलाचनले जानकारी दिए ।

उनले गत वर्षमा सरकारले ६ करोड बजेट खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको भएता पनि चालु वर्षमा २ करोड घटाएर ४ करोड रुपैयाँमात्र उपलब्ध गराएको जानकारी दिए ।

उनका अनुसार कार्यक्रम अन्तर्गत थासाङ गाउँपालिकालाई ९१ लाख, घरपझोङलाई ८० लाख, बारागुङ मुक्तिक्षेत्रलाई ८४ लाख, लोघेकर दामोदरकुण्डलाई ७२ लाख र लोमान्थाङलाई ६८ लाख बजेट विनियोजन गरिएको हो ।

जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि ५ लाख छुट्टाइएको छ । उनले गत वर्ष बजेट फ्रिज भएका योजनामा पनि सुहाउँदो ढंगले बजेट विनियोजन गरेको बताए ।

स्थानीय पूर्वाधार साझेदारीको बजेट सबैभन्दा बढी थासाङले पाएको छ भने सबैभन्दा कम बजेट लोमान्थाङलाई परेको छ । न्यूनतम ५ लाखदेखिमाथि आवश्यकता र औचित्यको आधारमा खर्च गर्न पाउने अधिकार प्रतिनिधि सभाका सदस्यलाई हुन्छ ।

यस वर्ष २० लाखदेखि तल ५ लाखसम्मको ४० योजना समावेश भएको तुलाचको भनाइ छ । गत वर्ष स्थानीय तहको सुस्तताको कारण बजेट फ्रिज भएकाले योजनामा रकम अपुग भए स्थानीय तहले पनि बजेट साझेदारी गर्नुपर्ने सहमति भएको तुलाचनले जानकारी दिए ।

‘गत वर्ष साझेदारीबाट निर्माण भएको अधिकांश योजना उपभोक्ता समितिले सम्पन्न गरेका थिए,’ उनले भने, ‘ठेक्का टेन्डरमार्फत गर्नुपर्ने योजना स्थानीयतहको उदासीनता र गैरजिम्मेवारीपनाले पूरा हुन सकेनन् ।’

उनले विकासका लागि आएको बजेट खर्च हुन नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

उनका अनुसार गत वर्ष लोमान्थाङको छोसेरमा रहेको निफुक गुम्बा, थासाङको लेतेमा समाजघर निर्माण र घरपझोङको एयरपोर्टमा स्वागत गेटमा विनियोजन भएको बजेट फ्रिज हुन पुगेको थियो । तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि आएको योजना र बजेट परिचालनमा स्थानीयतह जिम्मेवार बन्नुपर्ने सुझाए ।

प्रदेश सभाका सदस्य ईन्द्रधारा बिष्टले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना तथा २/२ करोड बजेट समानुपातिक ढंगले बाँडफाँड गरेको जानकारी दिए ।

उनका अनुसार दुबै कार्यक्रमको बजेट कतिपय योजनामा साझेदारी गरिएको छ । सडक निर्माण, कृषि तथा पशुपालन, ऐतिहासिक सम्पदा संरक्षण तथा पुनःनिर्माण, सिँचाइ तथा पूर्वाधार निर्माण, खानेपानी, खेल पूर्वाधार, खेतीयोग्य जमिन सरक्षण, नदी नियन्त्रण र पर्यटन पूर्वाधार लगायत योजनामा बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया