विरगञ्जबासीलाई पोखरा भ्रमणको निम्तो

समाधान संवाददाता २०७७ मंसिर २४ गते १९:३८

समाधान संवाददाता,पोखरा

पर्यटक बोलाउन पोखरेली पर्यटन व्यवसायीको टोली भ्रमणमा निस्कएको छ । कोभिड १९ ले थलिएको पर्यटनलाई उठाउन पश्चिमाञ्चल होटल संघ पोखराको टोली जाउँ है पोखरा अभियान लिएर बुधबार वीरगञ्ज पुग्यो ।

त्यहाँ उद्योग वाणिज्य संघका प्रतिनिधिसँग पोखरेली पर्यटनलाई चलायमान बनाउने विषयमा छलफल भएको छ ।

Advertisement

पोखरेली टोलीले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डलसँग भेटघाट ग¥यो । भेटमा गण्डकी प्रदेश र प्रदेश २ बीच धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने राज्यमन्त्री मण्डलले बताए ।

स्थानीय पर्यटन व्यवसायीसँग बुधबार नै भएको छलफलमा होटल संघका अध्यक्ष विकल तुलाचनले अहिले पोखरा घुम्न राम्रो मौसम रहेकाले भ्रमण गर्न आग्रह गरे ।

Advertisement

विदेशी पर्यटक तत्काल नआउने भएकाले आपसी सहकार्यले आन्तरिक पर्यटकको भ्रमणमा जोड दिनुपर्ने औंल्याए ।

उनले होटल र सहासिक गतिविधिमा ५० प्रतिशतसम्म छुट दिइएकाले मौकाको फाइदा उठाउन आग्रह गरे । मंसिर २७ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत टोली जनकपुर, विराटनगर र चितवनसम्म पुग्नेछ ।

अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले बताए ।

यात्रामा होटल सञ्चालक, अन्य पर्यटनकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र संचारकर्मी गरी १५ जनाको सहभागिता छ । नेपालमा सरकार र विद्रोही पक्षबीच द्वन्द्व जारी रहेकै अवस्थामा संघले १८ वर्ष अघि यो अभियान सुरु गरेको थियो ।

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको युनान प्रान्तमा पहिलोपटक देखिएको बताइने कोरोना भाइरसका कारण लाग्ने कोभिड–१९ रोगका कारण अहिले विश्व जगत नै नकारात्मक रुपमा प्रभावित छ ।

विश्व स्वास्थ्य संगठनले यस रोगलाई महामारी घोषणा गरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा नै मानिसको आवागमन ठूलो प्रभाव परेको छ ।

महिनौं लामो लकडाउनले व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन भएका छन् । कतिपयले घरभाडा र बैंकको सावाँ र ब्याज तिर्न सकेका छैनन् । धेरैले रोजगारी गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ ।

नेपालले भोगेको १० बर्षे आन्तरिक द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएको थिएन । महाभूकम्पपछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको हो । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उक्ति छ ।

सोही उक्ति अनुसार आसाको उज्यालो खोज्ने प्रयासमा यो अभियान रहेको व्यवसायीले बताएका छन् । कोभिड १९ को संक्रमण विद्यमान रहँदा पोखरेली पर्यटनले भोग्नु परेको समस्याबारे अवगत गराउने र आन्तरिक रुपमा घुम्नका लागि प्रेरित गर्ने उद्देश्य पनि समेटिएको छ ।

विभिन्न वर्ष र विभिन्न चरणमा पूर्वी नेपाल देखि सुदुर पश्चिमसम्म नै यात्रा गरी अभियानलाई विगतमा पनि संघले प्रभावकारी रुपमा सञ्चालन गरेको थियो ।

जाउँ है पोखरा अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न सफल भए पनि अहिले कोरोना भाइरसका कारण पर्यटन ठप्पजस्तो हुन पुगेको अवस्थामा अभियान अगाडि बढाइएको हो ।

तपाईको प्रतिक्रिया