पोलले अड्किएको पुल

महानगर भन्छ – निर्माण कार्य सबैतिरबाट अनुकुल भएन
अनुप आत्रेय, पोखरा
भने अनुसार हुन्थ्यो भने पैदल यात्रु पोखराको सिर्जनाचोकमा अहिले आकासे पुलबाट ओहोरदोहोर गरिरहेका हुन्थे ।
निर्माण कम्पनी र पोखरा महानगरपालिकाबीचको सम्झौतासाउनसम्म पोखराकै पहिलो आकासे पुल निर्माण पूरा गर्ने थियो ।शिलान्यास भएको पनि १ वर्ष पुगिसक्यो ।
काम समयमै नसक्नुको दोषी भने निर्माण कम्पनी होइन । निर्माण क्षेत्रमा भएको विद्युतीय पोलको व्यवस्थापन गरिदिन निर्माण कम्पनीकेएमजेबी एनएसले निर्माण थाल्दाका बखत नै महानगरको ध्यानाकर्षण गराएको थियो । तर महानगरले चासो दिएन ।
आफूहरुले पोल व्यवस्थापनका लागि महानगरलाई भने पनि अहिलेसम्म केही काम नभएको निर्माण कम्पनीका प्रतिनिधि सोम थापाले बताए ।
‘त्यहाँ विद्युतको पोल हटाउनेबारे कुरा हुँदैछ । हामीले पहिल्यै जानकारी गराएको हो । पोल ल्याउने कुराकानीमा पक्का भयो । डकुमेन्ट भइसकेको छैन,’ उनले भने ।
विद्युतको पोल नहटाइएसम्म काम अघि बढ्न नसक्ने उनले बताए । अहिले सडकको बीचमा र ३ दिशामा गरेर ४ ठाउँमा पिल्लर ठड्याइएको छ । ती पिल्लर ३ महिना पहिल्यै उठाइएको हो । मेट्रोसिटी हस्पिटल अघिको गणेशमान पार्कमा पोल उठाइएको छैन ।

मेट्रोसिटी हस्पिटल अघिको गणेशमान स्मृति पार्कमा रहेको पीपलको रुखको एउटा हाँगोले गर्दा त्यहाँ पहिला पोल गाडिएको थिएन ।
त्यसका लागि निर्माण कम्पनीले महानगर र महानगरले वन कार्यालयसँग समन्वय गरेका थिए । डेढ महिना पहिला निर्माणमा अवरोध पु¥याएको हाँगो काटिएको छ ।
महानगरले पोल व्यवस्थापनबारे नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रसँग छलफल पनि गरेको थियो ।
१६ मिटर अग्लो ८ वटा पोल चाहिन्छ भन्ने २ महिना पहिले नै विद्युत प्राधिकरणले महानगरलाई जानकारी गराइसकेको थियो ।
त्यहाँ हाल्नुपर्ने पोल ल्याउन आफूहरुले महानगरमा भनिसकेको प्राधिकरणका प्रमुख सुरेन्द्रकुमार साह बताउँछन् ।
उनका अनुसार त्यहाँ हाल्नुपर्ने पोल छुट्टै अर्डर दिनुपर्छ र बनाउन पनि समय लाग्छ ।
‘१६ मिटर अग्लो ट्युबलर पोल चाहिन्छ । त्यस्तो पोल हामीसँग पनि छैन,’ उनले भने, ‘त्यो पोल भयो भने आकाशे पुलभन्दा अग्लो हुन्छ । आवतजावतमा समस्या हुँदैन ।’
विद्युतीय पोल ल्याइए पनि त्योभन्दा अगाडि काम कसरी बढ्छ भन्ने मै अन्योल देखिएको छ । महानगरसँग त्यो योजना कसरी अगाडि बढाउने भन्ने जवाफ नै छैन ।
नेपालमा त्यति अग्लो फलामे पोल पाउन समस्या हुने र भारतबाटै ल्याउुपर्ने भएकाले आकाशे पुलको काम अघि बढाउन समस्या भएको महानगरका इन्जिनियर राजु रेग्मीले बताए । ‘यहाँका ग्रिल उद्योगमा कमर्सियल फलाम प्रयोग हुन्छ ।
त्यसले दिने लोड पहिल्यै हिसाब गरिएको हुन्छ । त्यहाँ कमर्सियल चल्दैन,’ उनले भने, ‘हामीलाई खानीबाट निस्केको पहिलो फलाम चाहिन्छ ।’उनका अनुसार ८ वटा पोल बनाउन ८ देखि ९ लाखसम्म खर्च लाग्छ ।
भारतबाटै पोल ल्याउने वा अरु विकल्प खोज्ने भन्नेबारे पनि निर्णय भइनसकेको इन्जिनियर रेग्मीले जानकारी दिए । ‘यस्तो पोल भारतमा पाइन्छ । अब त्यताबाट जम्मा ८ वटा पोल ल्याउँदा गाडीलाई लोड पुग्दैन,’ इन्जिनियर रेग्मीले भने, ‘ल्यायो भने पनि सिर्जनाचोकमा पोल राख्ने ठाउँ छैन । त्यसैले यो सबैतिरबाट अनुकुल भएन ।’
अब भारतबाट पोल ल्याउनेबाहेक अरु विकल्पबारे छिट्टै निर्णय हुने उनले बताए ।
सवारी र पैदलयात्रुको बढ्दो चापले समस्या खेपिरहेको पोखरामा गत वर्षदेखि आकाशे पुल बनिरहेको छ ।
आकाशे पुलको शिलान्यास मुख्यमन्त्री गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले गत वर्ष २७ मंसिरमा गरेका थिए । महानगरपालिकाको२ करोड ३० लाख लागतमा आकाशे पुल बनाउने सम्झौता भएको थियो ।
पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरेका थिए।पुलको जमिनमुनि कंक्रिट र माथि फलाम प्रयोग गरिएको छ ।
पुलको ४ वटै दिशामा चढ्ने र झर्ने ठाउँ हुनेछ । ‘१ ठाउँबाट चढेपछि जता पनि झर्न मिल्छ,’ निर्माण कम्पनीका प्रतिनिधि सोम थापाले भने ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार पोखरमा दैनिक साढे ३ लाख हारहारीमा गाडी गुड्छन् ।
पृथ्वीचोकमा पिक आवरमा (बिहान ९–१०) १२ हजारसम्म गाडी गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोका बताउँछन् ।
अहिले विद्यालय र कलेजका बसमात्रै गुडेका छैनन् । तर सिर्जनाचोक र पृथ्वीचोकमा २ जना ट्राफिक प्रहरीलाई पनि सवारी व्यवस्थापनमा हम्मेहम्मे पर्छ ।
आकाशे पुल निर्माण भइरहेको सिर्जनाचोकमा पिक आवरमा ५ हजार गाडी गुड्ने गरेको प्रहरीको तथ्यांक छ ।
तपाईको प्रतिक्रिया