पोखरा १७ मा जिल्लास्तरीय रंगशाला

समाधान संवाददाता २०७७ मंसिर २५ गते १२:२२

फुटबल र भलिबलका लागि त डिपिआर तयार र क्रिकेटसमेत खेल्न मिल्ने गरी मैदान बनाउने योजना

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका१७ ले रंगशाला निर्माण गर्ने गरी काम सुरु गरेको छ । वडाको पावरहाउस र फुस्रेखोलाकोबीचमा बहुउद्देश्यीय रंगशाला बनाउने गरी काम सुरु भएको हो ।

Advertisement

पहिलो चरणको काम अन्तर्गत मैदानसम्म जाने बाटो खोल्ने काम भइरहेको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य राधिका शाही योगीले जानकारी दिइन् ।

‘वडाले आफ्नै बलबुतामा मैदान बनाउन लागेको छ, अहिले मैदान जाने बाटो खोल्दै छौं,’ योगीले भनिन् ।

Advertisement

रंगशाला निर्माणका लागि मैदान निर्माण समिति गठन गरिएको सदस्य योगीले बताइन् ।

जिल्लाका खेलाडीहरु सम्मिलित समितिले निर्माण कार्यको अनुगमन गर्नेछ । प्रथम चरणमा फुटबल र भलिबल खेल्न मिल्ने गरी योजना बनाइएको योगीले सुनाइन् ।

यसका लागि पोखरा सर्भेइङ एन्ड इन्जिनियरिङ कन्सलटेन्सीले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । कन्सलटेन्सीले १ वर्षअघि नै ती खेल खेल्ने मैदानको डिपिआर बनाएको हो ।

साढे २ लाख रुपैयाँमा कन्सलटेन्सीले डिपिआर निर्माण गरेको हो । उक्त डिपिआरका अनुसार मैदान पुग्ने बाटो र मैदान निर्माणका लागि ९ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

‘फुटबल र भलिबलका लागि त डिपिआर बनिसकेको छ, अहिले अध्ययन नै गर्दै छौं,’ योगीले भनिन्, ‘हामी थप खेल खेल्न मिल्ने गरी डिपिआर बनाउन लागेका छौं, बजेट पनि बढ्ला ।’

अहिले वडाले उक्तठाउँमा क्रिकेटसमेत खेल्न मिल्ने गरी योजना बनाउन लागेको छ । प्रादेशिक खेलकुद आयोजना गर्न सक्ने क्षमता राखेर मैदान बनाउने लक्ष्य राखिएको योगीको भनाइ छ ।

‘वडाको मैदानभन्दा पनि प्रादेशिक गौरवकै योजनाका रुपमा बनाउन लागेका हौं,’ योगीले थपिन् ।

अहिले मैदान निर्माणस्थल जाने बाटो खोल्ने काम सुरुआत गरिएको छ । वडाको १० लाख रुपैयाँ बजेटले बाटो निर्माणको काम थालिएको हो । यो बजेट अपुग भएपनि महानगर र प्रदेशले यसमा बजेट दिनेमा वडा पदाधिकारी आशावादी छन् । ‘हाम्रो बजेट आफैंले व्यवस्थापन गर्न गाह्रो छ, ३ तहबाट नै सहयोग जरुरी छ,’ उनले बताइन् ।

प्रदेशमा बजेट माग गर्न प्रस्तावना पठाइएको छ । मैदानको डिपिआर ३ तहमै पठाइएको र अहिले छलफलकै क्रममा रहेको योगीको भनाइ छ ।

बुधबार पोखरा महानगरका मेयर मानबहादुर जिसीले मैदान जाने बाटो निर्माणको शुभारम्भ गरेका छन् ।

मेयर जिसीले वडापदाधिकारीको उपस्थितिमा निर्माण कार्यको शुभारम्भ गरेका हुन् । ‘महानगरले १ वडा १ मैदानको लक्ष्य लिएको छ, यसमा महानगरको पूर्ण साथ रहन्छ,’ शुभारम्भ गर्दै मेयर जिसीले भने, ‘स्वास्थ्य मानव जीवनको प्रमुख आयाम हो, खेलकुदले स्वास्थ्य अवस्था बलियो बनाउन मद्दत गर्छ ।’

९ महिनापछि पोखरामा प्रतियोगिता

कोरोना संक्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलोपटक खेलकुद प्रतियोगिता सुरु भएको छ ।

कास्की जिल्ला क्रिकेट संघले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मंगलबारदेखि क्लबस्तरीय छनोट प्रतियोगिता सुरु गरेपछि खेलकुद गतिविधि पुनः सुचारु भएको हो ।

पोखरामा पछिल्लोपटक फागुनको अन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

कोरोनाका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकुद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए ।

वर्षभरिनै नियमित खेलकुदका प्रतियोगिता सञ्चालन हुने पोेखरा रंगशालामा कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । ९ महिनापछि रंगशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित देखिएका छन् ।

कोरोना महामारीको केही समयपछि नै विश्वका अन्य देशमा खेलकुद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउँछन् ।

उनले भने, ‘अन्तिम पटक मलेसियासँग खेलेपछि कुनै पनि प्रतियोगिता खेल्न पाएका थिएनौँ । २० वर्ष क्रिकेटका लागि जीवन दिएका हामी खेलाडी पुनः खेल्न पाउँदा उत्साहित छौँ ।’

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले १ वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ ।

आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट संघले पुरुष खेलाडी छनोेट गर्ने क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न ६ टोलीले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया